काठमाडौं : पछिल्लो समय नेपालको राजनीति आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले तातेको छ । राजनीतिक दलहरुले देशैभरबाट उम्मेदवार घोषणा गरिरहेका छन् । देशैभर चुनावी सरगर्मी बढिरहेका बेला काठमाडौं क्षेत्र ९ (ख) मा भने शिक्षाविद्, सहकारी एवं सामाजिक अभियन्ता मनोज थापा मगरले छुट्टै चर्चा बटुलिरहेका छन् ।
काठमाडौं क्षेत्र ९ (ख) बाट प्रदेशसभा निर्वाचनका लागि माओवादी केन्द्रले दिलबहादुर श्रेष्ठ, मनोज थापामगर, मधुसुदन शर्मा अधिकारी र शंकर दुलाललाई सिफारिस गरेको छ । उनीहरुमध्ये मनोज थापामगरको चर्चा भने भिन्न प्रकारले भइरहेको छ । सिफारिसमा परेका अरु नेताहरुभन्दा उनी निकै अगाडि छन् ।
२०५१ सालदेखि राजनीतिमा सक्रिय भएका थापामगर सुरुवातदेखि नै माओवादीको भूमिगत आन्दोलनमा पार्टीका नेता कार्यकर्ता व्यवस्थापनमा सक्रिय हुँदै आएका छन् । चन्द्रागिरी पुरानो नैकापका स्थायी बासिन्दा थापामगर त्यहींकै विद्या मन्दिर माविको अखिल क्रान्तिकारीको प्रारम्भिक कमिटी अध्यक्ष बनेर राजनीतिमा होमिएका थिए । त्यसपछि विद्यार्थी संगठनका विभिन्न तह र तप्काको भूमिका सम्हालेका थापामगर २०६२÷०६३ को राजनीतिक परिवर्तपछि पार्टीको विभिन्न मोर्चामा रहेर कुसलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् । उनले योङ कम्युनिष्ट लिग (वाईसीएल)को पुरानो नैकाप सेक्रेटरी, जनसाँस्कृतिक महासंघको क्षेत्र नम्बर ९ संयोजक, अखिल नेपाल शिक्षक संगठनको इलाका सेक्रेटरी, माओवादी केन्द्रको काठमाडौं जिल्ला केन्द्रीय सदस्य, जिल्ला समन्वय समिति सदस्य, नेकपा माओवादी केन्द्रको सहकारी विभाग सदस्य भएर काम गरिसकेका छन् । विभिन्न राजनीतिक परिवर्तनका साक्षी थापामगरले पार्टीका हरेक कार्यक्रमहरुमा अग्र मोर्चामा आफूलाई उभ्याउँदै आएका छन् ।
राजनीतिसँगै उनले नेपालको सामाजिक, शैक्षिक, खेलकुद, उद्योग व्यवसायलगायतका क्षेत्रमा पनि छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन् । साढे दुई दशक लामो शिक्षक पेसामा संलग्न उनले विभिन्न स्कुलका कलेजमा नेतृत्व तहमा रहेर काम गरिसकेका छन् । नेपालको शिक्षा पद्धतीलाई नजिकबाट नियाल्दै आएका उनी युवा उद्यमीका रुपमा पनि परिचित छन् । शैक्षिक क्षेत्रको हरेक विषयको जानकार शिक्षाविद् थापामगर मोटिभेसनल स्पिकर पनि हुन् । उनले नेपालको शैक्षिक क्षेत्रका साथै विभिन्न विषयमा मोटिभेसन प्रवचन पनि दिँदै आएका छन् । सहकारी अभियन्ता थापामगर काठमाडौं जिल्ला बहुउद्देशीय सहकारी संघको अध्यक्षसँगै नेपाल बहुउद्देशीय केन्द्रीय सहकारी संघमा पनि आवद्ध छन् ।
पार्टी संगठनमा विगत लामो समयदेखि सक्रिय रुपमा क्रियाशील हुनुका साथै विभिन्न मोर्चा र निकायमा रहेर काम गरिसकेकाले पनि आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मनोज थापामगरले आफूलाई सशक्त उम्मेदवारका रुपमा आफूलाई उभ्याएका छन् । त्यसैले काठमाडौं क्षेत्र ९ (ख) बाट उनले टिकट पाउने मात्र नभई सहज रुपमा चुनाव पनि जित्ने स्थानीयको विश्वास छ ।
नेपाल माला
Leave a Reply
You must be logged in to post a comment.