धरहरा बनाउन कति लाग्ला खर्च ? पुरातत्व विभागको अनुमान २ अर्ब ८० करोड

चन्द्रागिरि ।

२०७२ बैशाख १२ को शक्तिशालि भूकम्पबाट पूर्ण रूपले ध्वस्त भएको एेतिहासिक सम्पदा धरहरा (भिमसेन स्तम्भ) निर्माणमा २ अर्व ८० करोड रूपैयाँ लाग्ने अनुमान पुरातत्व विभागले गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान तयार पारेको हो ।

अध्ययन प्रतिवेदनअनुसार ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुई सय ४५ फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरामा घुम्न आउने स्वदेशी तथा विदेशीका लागि मनोरम बगैंचा तथा अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था गरिने भएको छ । विभागले नयाँ बन्ने धरहरालाई पछिल्लो समय विकसित भएका प्रविधिको समेत अत्यधिक उपयोग गरी बलियो बनाउने विषयमा पनि अध्ययन गरिरहेको छ । नेपाल टेलिकमले धरहरा पुन:निर्माण गर्ने प्रतिबद्धता गरेलगत्तै विभागले त्यसको अध्ययन सुरु गरेको थियो ।