रसिया विश्वकपमा रोनाल्डोको ह्याट्रिक, स्पेन र पोर्चुगल खेलमा बराबरी

सोची (एजेन्सी)– स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् । समूह बीको दोस्रो खेलमा स्पेन र पोर्चुगललाई ३–३ ले बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पोर्चुगलले २ पटक र स्पेनले १ पटक अग्रता लिएको थियो ।  पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा ४ मिनेटको फरकमा २ गोल गर्दै खेलमा अग्रता बनाएको थियो । तर, ८८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने स्पेनका लागि डिएगो कोस्टाले समान २ र अर्को गोल नाचोले गरे । यस पटकको विश्व कपमा प्रतिक्षा गरिएको मध्ये एक खेलको चौथोे मिनेटमै रोनाल्डोको पेनाल्टी गोलमा पोर्चुगलले अग्रता लिएको थियो ।

नाचोले पेनाल्टी बक्समा आफैलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले विना कुनै गल्ति गोल गरेका थिए । उनको प्रहार रोक्ने क्रममा स्पेनका गोलकिपर डेभिड डि जियाको कमजोरी देखिएको थियो । आफ्नो नियन्त्रणमा आउने सक्ने बललाई उनले हल्का ढंगले लिएपछि बलले जाली चुमेको थियो । तर, २४ औं मिनेटमा कोस्टाले पोर्चुगलका रक्षापक्तिलाई तोड्दै बराबरी गोल गरेका थिए । बराबरी उन्मुख पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा रोनाल्डोले अर्को गोल थपेपछि खेल रोमाञ्चक बनेको थियो । ५४ औं मिनेटमा स्पेनका कोस्टाले बराबरी गोल गरे । कोस्टाले नजिकबाट गोल गरेका थिए ।

५८ औं मिनेटमा नाचोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, निर्धारित समयमा २ मिनेट बाँकी हरँदा रोनाल्डोले फ्रिकिकमा बराबरी गोल गरे भने व्यक्तिगत रुपमा ह्याट्रिक पुरा गरे । चौथो विश्व कपमा सहभागिता जनाइरहेका रोनाल्डो आजको गोलपछि भाग लिएका सबै विश्व कपमा गोल गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि आजै भएको समूह ‘बी’को अर्को खेलमा इरानले मोरोक्कोलाई १–० ले हराएको थियो । समूहको पहिलो चरणको खेल सकिदा इरानको ३, स्पेन र पोर्चुगलको समान १ अंक छ । समूहको अर्को टोली मोरोक्को विना अंक रहेको छ ।