चन्द्रागिरिमा इन्डोर क्रिकेट प्रशिक्षण सुरु: ग्रासरुटबाटै खेलाडी उत्पादनको लक्ष्य

चन्द्रागिरि, चन्द्रागिरि नगरपालिकामा क्रिकेट खेलको प्रवर्द्धन गर्ने र प्रतिभाशाली खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले चन्द्रागिरि क्रिकेट एशोसिएसन नेपालले आज (शनिबार) बाट इन्डोर क्रिकेट प्रशिक्षण सुरु गरेको छ। ग्रासरुट स्तरबाटै बालबालिकाहरूलाई लक्षित गरी यो तालिम तथा प्रशिक्षण सञ्चालन गरिएको हो।

यो प्रशिक्षणले भविष्यका कुशल खेलाडीहरू पहिचान गर्न र उनीहरूको प्रतिभालाई निखार्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रशिक्षणको उद्घाटन समारोहमा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र वडा नम्बर ४ का अध्यक्ष तथा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीको उपस्थिति थियो।

नगर प्रमुख घनश्याम गिरीले यस पहलको प्रशंसा गर्दै भन्नुभयो, “नगरपालिकाले नगर क्षेत्रमा विभिन्न खेलहरूका लागि प्रशिक्षण, तालिम एवं प्रतियोगिता सञ्चालनका लागि सहजीकरण गर्दै आएको छ। क्रिकेट खेलको समेत व्यवस्थित प्रशिक्षण सुरु भएकोमा हामी खुसी छौँ र यसको निरन्तरताका लागि नगरले आवश्यक सहजीकरण गर्नेछ।”

त्यसैगरी, नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले भन्नुभयो, “नगर क्षेत्रमा क्रिकेट खेलको व्यवस्थित सुरुवात गरेकोमा चन्द्रागिरि क्रिकेट एशोसिएसन नेपालप्रति नगरपालिकाले हार्दिक धन्यवाद व्यक्त गर्दछ। यस्ता गतिविधिले खेलकुदको विकासमा ठूलो टेवा पुग्ने विश्वास हामीले लिएका छौँ।”


(तस्वीर: सामाजिक सञ्जालबाट)