बलम्बूस्थित महालक्ष्मी मन्दिरमा तान्त्रिक होमसहित देवीको पुनर्स्थापना

चन्द्रागिरि, २१ साउन/
चन्द्रागिरि नगरपालिका-१२ स्थित प्राचीन नेवाः बस्ती बलम्बूमा पुन:र्निर्मित महालक्ष्मी मन्दिरमा नेपाल सँस्कृतिको अत्यन्तै गुह्य र महत्वपूर्ण सनातनी तान्त्रिक होम गरेर देवी पुनर्स्थापना सहित निर्माण सम्पन्न गरिएको छ ।




अत्यन्तै दुर्लभ मानिएको तान्त्रिक होम र देवी पुनर्स्थापना गर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट १७ जना राजोपाध्याय ब्राह्मण पुरोहितहरूका साथै कर्माचार्य र जोशी विज्ञहरू अहोरात्र लागिपरेका थिए ।

पूजा अवधिभरि पुजारी बाहेक अन्यले हेर्न पनि नपाइने होम पूजा इचंगु नारायणका पुजारी श्रीमद् राजोपाध्यायको मूलाचार्यत्वमा रजनी राजोपाध्याय सहितले गरेका थिए भने ललितपुर पट्कोबाट अजरा राजोपाध्याय, भक्तपुरबाट मञ्जु र अञ्जु राजोपाध्यायले योगिनी पूजा गर्नुभएको थियो ।

Balmbu Mandir

काठमाडौँ ताम्सीपाखाका कवीन्द्र राजोपाध्यायको उपाध्यायत्वमा सम्पन्न होम र पूजामा उद्घात् ब्रम्हायणी पूजा भक्तपुर चाँगुनारायणका पुजारी ओमधरानन्द राजोपाध्यायबाट, प्रतिहर्ता सूब्रह्मण्य माहेश्वरी पूजा नरदेवी काठमाडौँका पुरूषोत्तम राजोपाध्यायबाट, ब्रह्मा ब्रह्माणच्छासी कौमारी पूजा विजय शर्मा राजोपाध्यायबाट, ऋत्विज याजक वाग्यत मरूत वैष्णवी पूजा पट्को ललितपुरका निरन ज्वालानन्द राजोपाध्यायबाट र आग्नीघ बाराही पूजा न्ह्योखा काठमाडौँका नरेन्द्र भालचन्द्र राजोपाध्यायबाट सम्पन्न गरिएको थियो ।

मन्दिरमा प्रतिस्थाता उन्नेता इन्द्रायणी पूजा पट्को ललितपुरका रक्षण राजोपाध्यायबाट, नेष्टा चामुण्डा पूजा पूर्णचण्डी ललितपुरका आकाश राजोपाध्यायबाट, अध्वर्यु भैरव पूजा पूर्णचण्डी ललितपुरकै आभास धरानन्द राजोपाध्यायबाट, सदस्पति सिंहिनी पूजा, मखन काठमाडौँका त्रिलोचन राजोपाध्यायबाट पोता व्याघ्रिणी पूजा, पूर्णचण्डी ललितपुरका श्रीजय शर्मा राजोपाध्यायबाट र यजमान गंंगायिनी पूजा सतुंगलका राजु राजोपाध्यायबाट सम्पन्न गरिएको थियो ।
बलि पूजा भक्तपुर तलेजुका विक्रम कर्माचार्यबाट र देवी स्थापना पूजा झोछेँ काठमाडौँका दीनानाथ जोशीबाट सम्पन्न गरिएकोमा पूजा सम्बन्धी सम्पूर्ण कार्यका लागि सरोज श्रेष्ठले संयोजन गर्नुभएको थियो ।

उपत्यकाभरिकै राजोपाध्याय पुरोहितहरूबाट अभूतपूर्व पूजा काठमाडौँ उपत्यकामा झण्डै डेढसय वर्षपछि सम्पन्न भएको र यसअघि भक्तपुरमा भैरव स्थापनार्थ भएको बताइएको छ ।

Balmbu Mandir2

बलम्बूको मूलदेवीका रूपमा पुजिने र प्रत्येक वर्ष तिहारको एक सातापछि जात्रा गरिने महालक्ष्मी देवीको मन्दिर पुनर्निर्माण गर्न दुई वर्षभन्दा बढी र झण्डै बीस लाख खर्च भएको निर्माण समितिका अध्यक्ष सञ्जय महर्जनले बताउनुभयो ।
निर्माण क्रममा देश तथा विदेशमा रहेका सयौं भक्तजनहरूले आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।
पुनर्निर्माण कार्य पूरातत्व विभागका पूरातत्वविद् साथै छाउनीस्थित राष्ट्रिय सँग्रहालयका प्रमुख जयराम श्रेष्ठको नेतृत्वमा सम्पन्न गरिएको थियो ।

तस्बिर:- धर्मेन्द्र महर्जन र कुमार रंजित

Balmbu Mandir3