चन्द्रागिरि साकोसले सुरु गर्‍यो, मोबाइल बैङ्किङ एपबाटै रेमिटेन्स सेवा

काठमाडौँ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले नेपालमै पहिलो पल्ट सहकारीमा मोबाइल बैङ्किङ एपबाट रेमिटेन्स सेवा सुरु गरेको छ ।




चन्द्रागिरिका सदस्यहरूले नेपाल भरी नै पैसा पठाउन वा पाउन साथै र विदेशबाट आएको पैसा चन्द्रागिरि मोबाइल बैङ्किङ एपको प्रयोग गरी आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् ।

यो सुविधाले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए । साथै कुँवरले डिजिटलमार्फत उक्त सेवा शुभारम्भ भएको घोषणा गरेका थिए ।

चन्द्रागिरि साकोसले उक्त मोबाइल बैङ्किङ एपलाई चन्द्रागिरि एम.सर्भिस नामले प्ले स्टोर तथा एप स्टोरमा उपलब्ध गराएको छ ।

२०७५ सालमा सुरु गरिएको उक्त मोबाइल बैङ्किङ सेवामा संस्थाका ५ हजार भन्दा बढी सदस्यहरू जोडिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरका बिचमा कायम रहेको निषेधाज्ञामा सदस्यहरूले घरमै बसेर उक्त एप याक्टिभेट गर्न सक्ने र पिन कोड बिर्सिएमा आफैँले रिसेट गर्न सक्ने सुविधा समेत उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

संस्थाले पहिलो वर्ष निःशुल्क रुपमा आबद्ध हुन सक्ने सुविधा उपलब्ध गराएको छ भने सेवामा आबद्ध हुन चाहने सदस्यहरूको सदस्य पहिचान विवरण अद्यावधिक गर्नुपर्ने भएकोले उक्त सेवा जोखिम रहित सेवाको रूपमा रहेको उनको भनाई छ ।