
राजधानीको तिन थान स्थित स्थानीयवासीको अवरोधका कारण कलंकी नागढुंगा सडक अवरुद्ध भएको छ ।
लामो समयसम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धूलो, धुवाँ र हिलोको मारमा परेका स्थानीयले आइताबार करिव आधा घटा सडक अवरुद्ध गरेका हुन् ।
सडक वनाउने ठेकेदारको अत्याचार र सडकमा पानी समेत नहालेको भन्दै स्थानिय महिलाहरुले सडकमा ड्रम राखेरै सडक अवरोध गरेपछि स्थानिय महिला र सुरक्षा कर्मि विच केहि वेर विवाद समेत भएको हो ।
महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख शकंर खड्काका अनुसार स्थानीयवासीले सडक अवरुद्ध गरेपछि सडक जाम भए पछि प्रहरीले संमन्वयन गरी सडक खुलाएको वताए । नागढुंगा कलंकी सडकमा अवरोध हुँदा पृथ्वी राजमार्गमा समेत सवारी आवागमनमा समस्या देखिएको छ ।
सडक निर्माणमा ढिलाइ हुँदा आफूहरूले सास्ती भोग्नुपरेको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् । दैनिक १५ हजारभन्दा धेरै सवारी चल्ने यो सडकमा धुलो उडेर दिउँसै अँध्यारो हुन्छ । ‘धुलो उडेर पाँच मिटर अगाडिको दृश्य पनि देख्न सकिँदैन,’ स्थानिय मञ्जु कार्कीले भनिन ।
बर्खामा हिलो र अन्य समयमा धुलो उड्दा त्यस क्षेत्रका स्थानीयवासीको दैनिकीमा समेत असर परेको छ । कच्ची सडक भएकै कारण अन्य समयमा पनि जामको समस्या बढेको बताउँछन चन्द्रगिरि नगपालीका १ का सलमान थापा ।
तिन थान निवासी भागीरथी रिमाल पनि सडकको दुरवस्थाका कारण ट्राफिक जाम बढेको बताउँछिन । राजधानी भित्रिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक समयमै निर्माण सम्पन्न नहुँदा उपत्यका बाहिरिने र भित्रिने सबै सवारीसाधन जाममा पर्ने गरेका छन् । १२ मिटर चौडाइसहित ४ लेनको सडक निर्माण गर्ने भनिए पनि अहिले दुईतर्फी सवारीसाधन नै एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था छ ।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत करिब साढे १२ किलोमिटर सडक निर्माण कार्यमा हालसम्म १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार खर्च भइसकेको छ । २०७१ सालबाट निर्माण सुरु गरिएको कलंकी–नागढुंगा सडक साढे दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो । तर, ठेकेदारको लापरवाहीका कारण चार वर्ष बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन ।