
काठमाडौं: चन्द्रागिरि नगरपालिकाको वडा नं. १० कार्यालयले वडाभित्रका सडक र सार्वजनिक स्थलहरूमा जथाभावी सवारी साधन पार्किङ गर्न निषेध गरेको छ। बढ्दो सवारी जाम र बटुवालाई भइरहेको असुविधालाई सम्बोधन गर्न यो निर्णय गरिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष शिव कुमार महर्जनद्वारा जारी गरिएको सूचनाअनुसार सतुंगल हुदै मच्छेगाउं-मातातिर्थ जाने सडक, जरुचा लिक मार्ग, जेसिस स्कूलदेखि काठमाडौं शिक्षा क्याम्पस सडक, सिप्रदी अगाडीको गेटबाट बोसिगाउँ हुँदै मच्छेगाउं जाने सडक खण्डहरूमा पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यसका साथै, लाछी टोल र बोसिगाउँका सार्वजनिक स्थलहरू, वडा कार्यालयको आसपास तथा अन्य सार्वजनिक ठाउँमा पनि सवारी साधन पार्किङ गर्न पाइने छैन।
जथाभावी पार्किङका कारण बिरामी बोक्ने एम्बुलेन्स, सार्वजनिक तथा निजी सवारी साधनहरूलाई आवतजावत गर्न समस्या भइरहेको र सडकमा लामो समय जाम हुने गरेको भन्दै वडा कार्यालयमा व्यापक जनगुनासो आएको हुनाले नगरपालिकाले खटाएको नगर प्रहरी वा ट्राफिक प्रहरीले अनुगमनका क्रममा तोकिएको स्थानमा पार्किङ गरेको पाइएमा नियमअनुसार कारबाही गरिने वडा अध्यक्ष महर्जनले जानकारी दिएका छन्।
साथै यस सूचना आनुसार जथाभावी पार्किङका गरेको खण्डमा नगरपालिकाले खटाएको नगर प्रहरीले समातेमा सवारी साधनको प्रकृतिअनुसार रु. १,००० देखि रु. ५,००० सम्म जरिवाना गरिनेछ। चन्द्रागिरि नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८२ जारी गरिएको अनुसूची ११ (दफा १३ सँग सम्बन्धित) अनुसार, अनधिकृत पार्किङ गर्ने सवारी साधनलाई समातिएकै दिन जरिवाना हुने उल्लेख भएअनुसार, मोटरसाइकल र स्कुटरलाई १,००० रुपैयाँ, साना सवारी साधन (कार, जीप, भ्यान) लाई २,००० रुपैयाँ, र ठूला सवारी साधन (बस, ट्रक, डोजर) लाई ५,००० रुपैयाँ जरिवाना हुने उल्लेख छ।





