
काठमाडौं — चन्द्रागिरि नगरपालिका, वडा नं १५, ढुङ्गाअड्डास्थित बसस्टप नजिक नगरपालिकाको पहिलो अत्याधुनिक स्मार्ट पब्लिक टायलट निर्माण कार्य सम्पन्न भएको छ।
यो परियोजना चन्द्रागिरि नगरपालिकासँगको सहकार्य र वडा नं १५ को सहजीकरणमा, एरोसान सस्टेनेबल स्यानिटेशनको करिब रु. १ करोडको आर्थिक सहयोग तथा सञ्चालन र व्यवस्थापनमार्फत सम्पन्न भएको हो।
नगरपालिकाका अनुसार, कलंकी–नागढुङ्गा सडकखण्डमा पहिलोपटक यस्तो आधुनिक सुविधायुक्त शौचालय स्थापना गरिएको हो, जसले स्थानीय बासिन्दा र यात्रु दुवैलाई सुविधा पुर्याउनेछ। साथै, अन्य थप तीन स्थानमा पनि यस्तै सार्वजनिक शौचालय निर्माण गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिइएको छ।
मेयर घनश्याम गिरिले परियोजनामा साथ र सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै, आधुनिक, स्वच्छ र सुरक्षित सार्वजनिक शौचालय नगरपालिकाको आवश्यक पूर्वाधार विकासको एक महत्वपूर्ण पहल भएको बताए।








