कलंकीको अण्डरपासको ९० प्रतिशत काम सम्पन्न, तीन हप्तामा सञ्चालनमा आउने

काठमाडौँ । निकै महत्वका साथ हेरिएको कलंकीको अण्डर पास वेको अधिकांश काम सम्पन्न भएको छ । हाल कलंकीमा हुँदै आएको अत्यधिक यातायात चापका कारण यात्रुहरुले व्यहोर्दै आएको सास्ती अब हट्ने भएको छ ।

चिन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको कोटेश्वर–कलंकी सडक आयोजनाअन्तर्गत नै चिनको अनुदानमै बनेको यो अण्डर पास वे करिब तीन हप्तामा सञ्चालन हुने सडक विभागले जानकारी दिएको छ ।

विभाग अन्तर्गतको वैदेशिक महाशाखाका सिडिइ प्रकाश भण्डारीले कलंकी अण्डर पास वेको ९० प्रतिशत काम सम्पन्न भएको बताएका हुन् । आठ सय मिटरको अण्डर पास वे निर्माणको काम चीनले गर्दै आएको छ ।

कलंकीको खसिबजारदेखि वाफलसम्म यो अण्डर पास वेको दुरी छ । सर्वाधिक सवारी चाप हुने कलंकी क्षेत्रमा निर्माण भएको अण्डर पास वे सञ्चालन हुने वित्तिकै कलंकीमा हुने घण्टौँसम्मको ट्राफिक जाम घट्ने विश्वास गरिएको छ ।

यस्तै, हाल आठ लेनमा निर्माण हुँदै आएको कोटेश्वर कलंकी सडक असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य महाशाखाले राखेको छ । अहिले कलंकी सडक खण्ड पार गर्नका लागि घण्टौँ ट्राफिक जामको सास्ती आम यात्रुहरुले भोग्नु परेको छ ।

अण्डर पास वे सञ्चालनमा आएपछि बल्खुबाट सितापाइलातर्फ जाने सवारी साधनहरु अण्डर पास वेमार्फत जाने छन्, यसले गर्दा पनि अहिले कलंकीमा घण्टौँसम्म रोकिनुपर्ने बाध्यता हट्ने महाशाखाको दाबी छ ।

ट्राफिक व्यवस्थापनमा अण्डर पास वेको भूमिका महत्वपूर्ण हुने देखिए पनि अहिलेसम्म सरकारले काठमाडौँका कुनै पनि स्थानमा अण्डर पास वेको निर्माण गरेको छैन । पछिल्ला दिनहरुमा बढ्दै गएको सहरी जनसंख्या वृद्धि र सोही रुपमै काठमाडौं उपत्यकामा बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्नका लागि सरकारले सडकलाई मात्रै प्राथमिकता दिदाँ समस्या थप जटिल भएको छ ।

सरकारले अहिले सम्भावित सवारी चाप बढि हुने स्थानमा अण्डर पास वे निर्माणलाई प्राथमिकता दिएमा हाल भइरहेको सवारी चापका साथै सवारी दुर्घटना पनि न्युनिकरण हुने देखिन्छ ।

चीन सरकारको ५१२ मिलियन युआन (करिब ५ अर्ब रुपैयाँ) को अनुदान सहयोगमा उक्त चक्रपथ विकास आयोजना अन्तर्गत कलंकी चोकमा अन्डरपास निर्माण गरिएको । यस आयोजनाअन्तर्गत कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको करिब साढे १० किलोमिटर लामो १० लेन चौडाइको सडक निर्माण पनि अन्तिम चरणमा पुगेको छ । साभार:- खरीबोट