
चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगलको नव निर्मित वडा भवनको नगर प्रमुख घनश्याम गिरी तथा वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठले संयुक्त रूपमा बिधिवत उद्घाटन गर्नुभएको छ।
आज एक औपचारिक कार्यक्रमका बिच वडा कार्यालय तथा स्वास्थ्य चौकीले प्रयोग गर्ने उक्त नव निर्मित भवनको उद्घाटन भएको हो।
डेढ वर्षको अवधीमा निर्माण सम्पन्न भएको उक्त भवन र भवन परिसर गरि कुल २,६९,००,०००/- ( दुई करोड उनान्सत्तरी लाख रुपैया) मा टेण्डर प्रक्रिया मार्फत सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको हो।
नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यता र सो वडाका अध्यक्ष नरेन्द्र राज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगर उप प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गी, निवर्तमान प्रबक्ता तथा निवर्तमान अध्यक्ष हरिभक्त महर्जन, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरुका साथ साथै अन्य अतिथिहरुको पनि उपस्थिती रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुखले नगरपालिकाको अब जम्मा दुई वटा वडाको आफ्नै प्रशासनिक भवनको निर्माण कार्य बाकी रहेकोमा जग्गा प्राप्ति लगायत अन्य प्रक्रिया अगाडि बढीसकेको र सो पश्चात निर्माण कार्य पनि शुरु हुने कुरा जानकारी गराउनु भयो।
शुन्यको अवस्थामा शुरु भएको पहिलो कार्यकालमा नगरपालिकाको आफ्नै प्रशासकीय भवन, पशु सेवा को भवन , विभिन्न वडा भवन, अस्पताल तथा विभिन्न सामुदायिक बिधालयका भवनको निर्माण सम्पन्न भइसकेको र च न पा-४ मा २५ शैयाको अस्पताल भवनको निर्माण शुरु भइरहेको कुरा पनि नगर प्रमुखले बताउनु भयो।
खानेपानी तथा फोहोर मैला ब्यबस्थापनलाई प्राथमिकता राखी उत्पादन तथा बजारीकरण लगायत अन्य क्षेत्रमा पनि नगरपालिका कटिबद्ध रहेको र साथै सम्पूर्ण सेवा अनलाईन बनाउन पनि आवस्यक पुर्वाधार तयार भइसकेको कुरा पनि नगर प्रमुखले बताउनु भयो।
नगर प्रहरी भर्ना पनि अन्तिम चरणमा रहेकोले सो पश्चात् सडक ब्यबस्थापन तथा सुरक्षाको बिषयमा धेरै नै सहजीकरण हुने कुरा पनि नगर प्रमुखले बताउनु भयो।












