नागढुंगाबाट लागुऔषधसहित दुई पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले चन्द्रागिरी २ नागढुंगास्थित चेक जाँचको क्रममा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७५७७ नम्बरको यात्रुबाहक बसबाट लागुऔषधसहित पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगञ्ज वडा नं १ घर हुने १८ वर्षीय लड्डु साह र जिल्ला बारा कलैया नगरपालिका ७ घर हुने २४ वर्षीय राजिव क्षेत्री भन्ने अमर खड्का रहेका छन्।

प्रहरी नायव उपरीक्षक थापाले उनीहरूको साथबाट लुकाइछिपाइ लिई आएको लागुऔषध डाइजेल्याब २१ एम्पल, फेनारगन २१ एम्पल र नुफिन २१ एम्पल फेला परेको बताए।

पक्राउ गरेका साह र खड्काविरूद्व थप अनुसन्धान पश्चात् लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ।