
काठमाडौं, २०८२ साउन १४ गते: चन्द्रागिरि नगरपालिका–१०, सतुङ्गलस्थित सि.जि गेट अगाडिबाट मोटरसाइकल चोरीको प्रयास गरिरहेको अवस्थामा एक युवालाई रङ्गे हात पक्राउ गरिएको छ। धादिङ थाक्रे गाउँपालिका–०१ घर भएका २३ वर्षीय रीतक तामाङ लाई हिजो (साउन १३ गते) राति करिब ८ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले शंकास्पद गतिविधि गरिरहेका तामाङलाई सोधपुछ गर्न खोज्दा उनी भाग्न प्रयास गरेका थिए। प्रहरीले तत्काल नियन्त्रणमा लिई खानतलासी गर्दा उनी चढेको बा. प्र. ०२-०३५ प ९०४७ नम्बरको २०० सि.सी.को एन.एस मोटरसाइकल र मोटरसाइकलको लक फुटाउन प्रयोग हुने ‘टी’ आकारको फलामको रड समेत बरामद भएको छ।
पक्राउ परेका तामाङमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक अपील राज बोहरा ले जानकारी दिनुभयो।




