
काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवमा बस्दै आएका दम्पतीबीचको विवाद ज्यानलिने घटनामा परिणत भएको छ।
४६ वर्षीय निरोज कुमार खड्गीले आफ्नी श्रीमती सुस्मिता खड्गीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दुवैजना ठैवमा अस्थायी टहरो बनाएर बस्दै आएका थिए।
आइतबार बिहान ६ बजेतिर घटना भएको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। ललितपुर प्रहरीले घटनालगत्तै निरोजलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, आपसी विवादकै कारण हत्या भएको हुन सक्ने अनुमान गरिएको छ। सुस्मिताको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ।
घटनाबारे थप अनुसन्धान सातदोबाटो प्रहरी वृत्तमार्फत् भइरहेको ललितपुर प्रहरीले जनाएको छ।





