मच्छेगाउँ बस्ने महिला सतुङ्गलमा ६ किलो चरेससहित पक्राउ

काठमाडौं, २०८२ साउन ८ गते – काठमाडौंको चन्द्रागिरि नगरपालिका-११, सतुङ्गलस्थित सडक खण्डबाट प्रहरीले ६ केजी चरेश जस्तो देखिने कालो पदार्थसहित एक महिलालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

मिति २०८२ साउन ७ गते राति करिब ९:०० बजेको समयमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले सतुङ्गलको सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेकी एक महिलामाथि चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका-२ घर भई हाल चन्द्रागिरि नगरपालिका-९, मच्छेगाउँमा डेरा गरी बस्ने वर्ष ३९ की पार्वती मगरले साथमा बोकेको रातो रङ्गको जेब्रा झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा १२ थान चरेश जस्तो देखिने कालो पदार्थ फेला परेको थियो। बरामद पदार्थको तौल ६ केजी रहेको छ।

प्रहरीले पार्वती मगरलाई नियन्त्रणमा लिई सम्मानित काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिनुभयो।