नागढुङ्गाको प्रहरीलाई घुस दिने दुई जना पक्राउ

पुस १६, काठमाडौँ । नागढुङ्गाको चेक प्वाइन्टमा प्रहरीलाई घुस दिने दुई व्यक्ति पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाको चेक प्वाइन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ९४६९ नम्बरको यात्रुवाहक बसका सहचालक राम बहादुर सुवेदी र क्रिकेट सम्बन्धी सामाग्री ल्याउने अर्घाखाँची सन्धिखर्क घर भएका जगत बहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

ड्युटीमा खटिएका प्रहरी टोलीले कागजातहरु माग्दा नदेखाइ प्रहरी नायव निरिक्षक विश्वनाथ त्रिपाठीलाई १५ सय घुस दिन खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायवउपरीक्षक कुमार विक्रम थापाले बताए ।

महानगरीय प्रहरी वृत्त अन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुङ्गामा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्दै गर्दा सामानको कागज मागेको थियो ।

कागजपत्र माग्ने क्रममा उक्त सवारीका सहचालकलाई १५ सय घुस दिन लगाउने जगत बहादुर क्षेत्री र सहचालक राम बहादुर सुवेदीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाइने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।