महानगरीय प्रहरी प्रभाग बलम्वुले दिल्लीबाट चाेरिएका माेबाइल १० लाख बराबरका माेबाइलसहित २ भारतीय पक्राउ

रोशन दानी,
काठमाडाैँ, ६ असोज । भारतमा चोरी भएका मोबाईल नेपालकाे संघीय राजधानी काठमाडाैँसम्म भित्रिने गरेको नयाँ तथ्य फेला परेको छ ।

चोरहरुको गिरोहले भारतका विभिन्न स्थानमा चोरी गरी नेपालमा बिक्री-वितरण गर्ने गरेको तथ्य फेला परेको हो । महानगरीय प्रहरी प्रभाग बलम्वुले भारतको दिल्लीबाट राजधानी आउँदै गरेको डि.एल.१२ सि.ए.१४५८ नम्वरको सेतो महेन्द्रा गाडीबाट आइरहेका चाेरीका मोबाईलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रमुख एसएसपी उत्तमराज सुवेदीकाले भारतबाट आउने अवैध सामग्री नियन्त्रण गर्ने रणनीति बमोजिम सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । उनले मोबाइलसहित भारत नयाँदिल्ली, लक्ष्मीनगरका वर्ष ३३ का दीपक महाजन र दिल्ली शास्त्रीपार्कका वर्ष ३६ का मोहम्द चाँदलाई पक्राउ गरिएको जानकारी दिए ।

काठमाडाैँ प्रहरी प्रमुख सुवेदीले भने, ‘दशैँ-तिहार, छठलगायत चाडपर्वमा हुने चोरीपैठारी नियन्त्रण तथा पटाकालगायत संवेदनशील वस्तुहरु भित्रिने हुँदा नागढुंगा लगायत मुख्य नाकामा कडाई गरेका छौं ।’

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले चेकजाँचको क्रममा विभिन्न कम्पनीका विभिन्न व्राण्डका ५५ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको बताए ।

उनीहरुबाट बरामद गरिएका मोबाइलमा आईफोन, स्यामसुङ, एमआई, कुलप्याड लगायत कम्पनीका रहेका छन् । प्रहरी निरिक्षक खड्काका अनुसार चोरी भएका ती सबै मोबाइल करिब १० लाख बराबर मुल्यका छन् ।

पक्राउ परेका दुवैजनालाई गाडी र बरामद मोबाइलसहित राजस्व अनुसन्धान विभागमा पठाइएको बलम्वु प्रहरी जनाएको छ ।