
काठमाडौं, अवैध रुपमा भन्सार छलि ल्याएको ७ सय ७७ ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित भारत दिल्लीका ३४ वर्षीय बिकाश महाजनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगल गोल्डेन गेटस्थित पार्किङबाट सोमबार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
महाजन समेतका व्यक्तिहरूले भन्सार छली अबैध रूपमा सुन ल्याई कारोबार गर्न लागेको घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त पार्किङस्थलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा महाजनले सेण्डो र अण्डरवेयरमा पेष्ट गरेको उक्त धातुको साथै १९ हजार ५ सय भारतीय रूपैयाँ र ४ सय २० युएई दिराम सहित उनलाई पक्राउ गरेको हो । उनले उक्त धातु दुवईबाट भारततर्फ लैजाने लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी गराएको छ ।
उक्त धातु सहित उनलाई भन्सार छली सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको जानकारी गराएको छ ।