
चन्द्रागिरी नगरपालिका-३ थानकोट बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ५५ ट्याब्लेट सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा विष्णुपुर गाउँपालिका-५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिरा कुमार सदा र २२ वर्षीय लक्ष्मी कुमार सदा रहेका छन् ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ख ००३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जानकारी गराएको छ |
बाँके, नेपालगंज उपमहानगरपालिका-११ त्रिभुवन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धूलो पदार्थ १४ ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीय कल्लु कबडियालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कबडियाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट प्रहरीले २२ हजार नेपाली रूपैयाँ र १ हजार ५ सय भारतीय रूपैयाँ समेत बरामद गरेको जानकारी दिएको छ |
महोत्तरी, बर्दिवास नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ३ किलो ८ सय ग्राम सहित सर्लाही मलंगवा नगरपालिका-१० बस्ने ३३ वर्षीय राकेश कुमार झालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट जनकपुरतर्फ जाँदै गरेको ग.१ ख ९०३० नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा ल्याएको उक्त गाँजा फेला पारी बसका चालक झालाई पक्राउ गरेको जानकारी गराएको छ | यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।