कीर्तिपुरबाट गाडी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

चन्द्रागिरि ।

कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सुख्खा बन्दरगाहा अगाडि पार्किङ गरी राखेको बा.५ च ९६५७ नम्बरको गाडी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-२ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने २८ वर्षीय अशोक लामा र काठमाडौं चोभार बस्ने मकवानपुर थाहा नगरपालिका-१२ घर भएका २३ वर्षीय किरण स्याङतान रहेका छन् ।

गत चैत ३० गते राति उक्त गाडी हराएको र कीर्तिपुर नगरपालिका-६ चारघरेस्थित सुवर्ण महर्जनको चक्रतिर्थ मल्टिपरपोज प्रालिको गोदाममा राखिएको सवारी साधनको पाटपुर्जाहरु चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा काठमाडौं चोभार डाँडास्थित खाली चौरमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको अवस्थामा उक्त गाडीसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । थप सोधुछको क्रममा उक्त गाडी र सुवर्ण महर्जनको गोदामबाट चोरी भएका सामानहरु समेत उनीहरूले चोरी गरेको खुल्न आएको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ ।