मोटरसाइकल चोर्ने दुई युवा पक्राउ

काठमाडौँ, असार ३० गते । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौँको कलङ्कीबाट शुक्रवार मकवानपुरको बागमती गाउँपालिका ३ घर भई हाल काठमाडौँको स्वयम्भू ठुलो भर्‍याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ घर भई ठुलोभर्‍याङनै बस्ने २५ वर्षीय बुद्ध बहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएका मोटरसाइकल खोजतलासको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट खटिएको टोलीले शङ्कास्पद अवस्थामा च्यासिस र इन्जिनको भाग कोरिएको ना ३२ प ६६ ६३ नम्बरको मोटरसाइकल सहित अमृत पाख्रिन तामाङलाई नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकलको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बुद्ध बहादुर वाइबाबाट लिएको भन्ने खुलेपछि वाइबालाई बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।

बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा चोरीमा प्रयोग भएको खुल्न आएको छ । महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हाल ललितपुरको ग्वार्को बस्ने निकेश कुमार साहले ग्वार्को स्थित पार्किङ स्थलबाट प्रदेश ३ ०२ ००२ प ८९ ७७ नम्बरको मोटरसाइकल गएको बुधवार चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उक्त मोटरसाइकलको चोरीमा पनि उनीहरूकै संलग्न रहेको खुल्न आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

नियन्त्रणमा आएका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । यसै गरी आर्थिक वर्ष २०७९-८० मा चोरीका ३४ ओटा सवारी साधन सहित चोरीमा संलग्न ३८ जना व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाएको जनाएको छ ।