
काठमाडौं । प्रहरीले सार्वजनिक सवारीमा सँगै यात्रा गरिरहेका यात्रुलाई बिस्कुुट खान दिएर बेहोस बनाई चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहिले चन्द्रागिरी न.पा. वडा नं. २ नागढुङ्गा चेकप्वाइन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखराबाट काठमाण्डौतर्फ आउँदै गरेको ग. १ ख. ९७१५ नं. को यात्रु बाहक बसको साइड (A) को ७ नं. सिटमा सवार भएका राम बहादुर परियारले आफूसँगै सिटमा सवार जिल्ला पर्बत चित्रे भञ्ज्याङ गाउँपालीका वडा नं.२ बस्ने बर्ष ४८ को कमलार्से गुरुङलाई बिष्कुटमा स्लिपिङ्ग ट्याबलेट मिसाई खुवाई बेहोस बनाई धनामाल चोरी गरेको अवस्थामा प्रहरीले राम बहादुर परियार पक्राउ गरेको हो ।
प्रहरीले परियारलाई चोरी गरेकै अवस्थामा फेला पारेको थियो भने बेहोस गुरुङलाई अस्पताल लगिएको थियो ।
प्रहरीले परियारको साथबाट Oreo बिष्कुट आधा खाएको अबस्थाको-३ प्याकेट, चालु अबस्थाको हाते घडी -४ थान, पर्स- २ थान, ए.टि एम कार्ड -२ थान, नगद रु.१४,५२०, सुनचाँदी पसलको बिल-२ थान, मोबाइल -४, पावर बैंक -१, सिम कार्ड-४ थान, स्लिपिङ ट्याब्लेट (५ ट्याब्लेटसहित) को पत्ता-२ थान बरामद गरेको थियो ।
घटनाको सम्बन्धमा राम बहादुर परियार उपर मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० को “चोरी तथा डाँका सम्बन्धी कसूर” मा प्रहरी बृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।