चन्द्रागिरी नगरपालिका-१२ मुखिया गाउँबाट मोटरसाइकल चोर्ने व्यक्तिहरू पक्राउ

काठमाडौं, फागुन १२। चन्द्रागिरी नगरपालिका-१२ मुखिया गाउँ बस्ने सागर महर्जनको घरमा पार्किङ गरी राखेको बा.९६ प ११०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-८ महादेवखर्क बस्ने १९ वर्षीय कुमार स्याङतान र २० वर्षीय युवराज तामाङ रहेका छन् । उक्त मोटरसाइकल गत माघ ८ गते राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा धादिङ गजुरी गाउँपालिका-२ फुर्केखोलामा उनीहरुलाई मोटरसाइलको बास्तविक नम्बर परिवर्तन गरी बा.९६ प ०१०८ नम्बर टास गरी चलाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

पर्सा, वीरगञ्ज महानगरपालिका-१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको पार्किङस्थलमा पार्किङ गरी राखेको प्रदेश २-०३-००७ प ८३०५ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२४ बस्ने २७ वर्षीय दिलिप कुमार चौधरी, सोही महानगरपालिका-३ बस्ने ३२ वर्षीय महमद हस्मोदिन मियाँ र सोही महानगरपालिका-२५ बस्ने २४ वर्षीय राजन पटेल रहेका छन् । उक्त मोटरसाइकल गत फागुन ५ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूले मोटरसाइकल चोरी गरी राजन पटेलको घरमा लुकाइ छिपाई राखेको र सो मोटरसाइकलको पार्टपूर्जा खोली महमद हस्मोदिन मियाले आफ्नो ना.८ प १०८३ नम्बरको मोटरसाइकलमा लगाएको खुल्न आएपछि उनीहरुलाई दुवै मोटरसाइकल सहित पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद अनुमित लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।