
भालेश्वर
झलमल्ल हिमालको मुनि उपत्यकाको पुरा दृष्य । सलाईका बट्टा जस्ता देखिन्छन् घरहरु । भालेश्वर (२,५००मिटर) आकर्षक छ । त्यहाँ तीन तले प्यागोडा शैलीको मन्दिर छ । त्यसभित्र छन् भालेश्वरको प्राचीन शीला । पहिला खुला आकाशमुनि थिए महादेव । केबलकार सञ्चालकले मन्दिर बनाएर भित्र शिला राखेका।
काठमाडौंबाट मात्र १९ किमि दुरी दक्षिणमा अबस्थित भालेश्वर प्रख्यात तिर्थ हो । डाँडाबाट चारैतिर राम्रो दृश्य देखिन्छ । पूर्वमा काठमाडौं उपत्यका, पश्चिममा मकवानपुरको चित्लाङ, उत्तरमा हिमाली सृङखला र दक्षिणमा चखेल दामन एवं महाभारत पर्वत छन्।
भालेश्वरसंग बडामहाराज पृथ्वीनारायण शाहको सन्दर्भ जोडिएको छ । उनले चन्द्रागिरीबाट सुन्दर उपत्यका देखेपछि भालेश्वर आएर मनकामना गरेछन् । पछि यही बाटो भएर काठमाडौं आक्रमण गरि जितेका थिए।
भालेश्वरमा केबलकार छ । अढाइ किमि लामो केबलकारमा थानकोटबाट भालेश्वर पुग्न १० मिनेट लाग्छ । भालेश्वरसम्मै मोटर बाटो पुगेको छ । थानकोट पछाडि गोदामबाट गाडी चल्छन् । डाँडामा रिसोर्ट, पार्क र होटल छन् ।
हाइकिङ गोदामबाट सुरु गर्ने । गोदामबाट जंगलको उकालो चढ्ने । त्यहाँबाट चन्द्रागिरी भञ्ज्याङ पुग्ने दुई बाटा छन्, मोटरेबल सडक र ठाडो गोरेटो । गोदामबाट चन्द्रागिरी ठाडो उकालो ३.८ किमि र मोटर बाटो ४.५ किमि । गोदामबाट दुई घन्टा लाग्छ भञ्ज्याङ (२,२५०मिटर) पुग्न।
भञ्ज्याङमा बौद्ध स्तुप छ । भञ्ज्याङ माथि चौरमा बसेर खाजा खाने । भञ्ज्याङको दक्षिणमा ३ किमि दुरीमा छन् भालेश्वर । त्यहाँबाट सूर्योदय र सूर्यास्तको राम्रो दृश्य देखिन्छ।
मच्छेगाउँबाट चम्पादेवी डाँडा भएर भस्मेश्वर हुँदै चखेल देउरालीबाट भालेश्वर आउन पनि सकिन्छ । भालेश्वरमा बस्ती छैन, बस्ती पुग्न २ किमि झरेर चखेल पुग्नुपर्छ । चखेलबाट पूर्व ओरालो झरेर मातातिर्थसम्म पदयात्रा गर्ने ।
कसरी पुग्ने : काठमाडौं पुरानो बसपार्कबाट कलंकी, गुर्जुधाराहुँदै थानकोट गोदामसम्म १५ किमि गाडीमा । गोदामबाट चन्द्रागिरी भञ्ज्याङ हुँदै भालेश्वर र भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म पदयात्रा । पदयात्रा दुरी : १६ किमि । समय ७ घन्टा ।
हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुरा
1. सकेसम्म गोरेटोमा हिँड्ने अथवा कम गाडी चल्ने, धुँवाधुलोरहित गाउँघरमा डुल्ने । रुटबारे पहिल्यै राम्रो जानकारी लिने।
2.हिँड्न सजिलो लुगा, स्पोर्टश जुत्ता लगाउने । मौसम अनुसार विण्डसिटर, टिशर्ट, क्याप, कम्पास, जिपिएस, रेनकोट–छाता, लौरो, पानी बोतल, रुक स्याक, सन ग्लास, क्यामेरा, दुरबिन आदि बोक्ने ।
3.प्राथमिक उपचार सामाग्रिहरु जीवनजल, सिटामोल, टेप, हयाण्डी प्लास्ट, व्याण्डेज, सियो धागो आदि बोक्ने ।
4.एक्लै हिँड्नु हुँदैन, समूहमा हिँड्ने । एकले अर्कालाई सहयोग गर्ने ।
5.फोटो खिच्दा लडिएला, होस पु¥याउने ।
6.पदमार्गका बासिन्दालाई अफ्ठेरो हुने गतिविधि नगर्ने । ठूलो स्वरले नकराउने । लगेको फोहर आफैंसँग ल्याउने ।
7.पच्चीस सय मिटर माथि अक्सिजनको कमिले बिरामी पर्न सकिन्छ । त्यसैले बिस्तारै आराम गर्दै पानी खाँदै हिँड्ने । रिंगटा, थकाई लागे, घुच्चुक दुखेमा आराम गर्ने । वाकवाकि लागेमा भने ओरालो झरिहाल्ने ।
8.आराम गरेको ठाउँमा पर्स, कपडा, व्याट्रि तथा मोबाइल चार्जर, क्यामेरा, दुरबिन, झोला आदि सामान छुट्न सक्छ । समयको पनि ख्याल गर्ने ।
9.हाइकिङ रुटका शैक्षिक संस्था, विपत्मा परेकाहरुलाई गच्छे अनुसार सहयोग गर्ने । समय भएमा गाउँका मन्दिर, गुम्बा जस्ता सम्पदा सफाइमा मद्धत पु¥याउने ।
10.हाइकिङ गन्तव्यमा पाइने तरकारी, फलफुल र हस्तकला लगायत सामान किन्ने । यसबाट ग्रामीण अर्थतन्त्रमा टेवा पुग्छ ।
11.उकालोमा हतारहतार हिँड्दा चाँडै स्वास फुल्छ । विस्तारै मध्यम गतिमा ठाउ“ ठाउ“मा पानी ब्रेक गर्दै हिँड्ने ।
ओरालो झर्दा शरीरको भार घुँडामा आउने हुँदा बिस्तारै हिँड्ने । उचाईमा चिसो वतास चल्छ । लेक लाग्न सक्छ । त्यसैले मनपरी नखाने । अधिक मोटोपन, उच्च रक्तचाप र अरु समस्या भएकाले ध्यान दिएर हिँड्ने ।
12.जंक फूड र फास्ट फुडले स्वास्थ्यलाई हानी गर्छ । त्यसैले फूलफूल र स्वास्थ्यवर्धक खाना खाने । साथमा जगेडा पैसा पनि बोक्ने ।