चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका महादेवस्थानस्थित महादेवस्थान–मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी परिक्षण सेवा सुरु गरेको छ । समितिका अध्यक्ष सूर्यनारायण मानन्धरले चन्द्रागिरिन्यूजलाई दिएको जानकारी अनुसार खानेपानीका ५ वटा परामितिहरु जाँच गर्न सकिने किट बक्स विश्व स्वास्थ्य संगठनको प्रायोजनमा खानेपानी तथा ढल निकास विभागको खानेपानी गुणस्तर शाखाले महादेवस्थान खानेपानीलाई उपलब्ध गराएको हो । उक्त किटबक्सको प्रयोग गरि इ–कोली, टोटल कोलिफर्म, क्लोरिन अवशेष, पिएच र टर्बाेडिटीको अवस्था जाँच गर्न सकिन्छ । जसबाट पिउनेपानी कतिको सुरक्षित छ थाहा पाउन सकिन्छ ।
महादेवस्थान मातातीर्थ खानेपानी उपभोक्ता समितिले निकट भविष्यमानै सुरु गर्ने पानी परिक्षण सेवा समितिको कार्यालय महादेवस्थानबाट उपलब्ध हुनेछ । उपभोक्ता समितिले वितरण गर्दै आएको पानीको अतिरिक्त सेवाग्राही तथा अन्य स्थानीयहरुले प्रयोग गर्ने पानी समेत न्युनतम शुल्क लिएर जाँच गर्न सकिने समितिका खानेपानी सुरक्षा योजना उपसमितिका संयोजक यल बहादुर महर्जनले बताए । हाल समितिले आफैँले वितरण गरिरहेको पानीको मात्र गुणस्तर जाँच गरिरहेको छ । महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिले हाल चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ (साबिक महादेवस्थान गाविस) क्षेत्रमा १ हजार ७ सय ९३ नीजि तथा करिब ४० सार्वजनिक धाराहरू मार्फत खानेपानी वितरण गर्दै अाएको छ ।

Leave a Reply
You must be logged in to post a comment.