पहिलो चरणको निर्वाचनका लागि शैक्षिक संस्था बैशाख २५ देखि बन्द

काठमाडौ, वैशाख २० ।

स्थानीय निकायको निर्वाचनको तयारीका लागि पहिलो चरण (वैशाख ३१ गते) मा निर्वाचन हुने ३४ जिल्लाका सबै शैक्षिक संस्थाको पठनपाठन अागामी सोमबारबाट एक साताका लागि बन्द हुने भएको छ । वैशाख २५ बाट प्रदेश नम्बर ३, ४ र ६ का विद्यालय मात्रै पठनपाठन बन्द हुनेछन् ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनको समयमा सम्पूर्ण शैक्षिक संस्थाको पठनपाठन बन्द गर्न सरकारलाई दिएको निर्देशन अनुरुप वैशाख २५ गतेबाट एक साताका लागि ति जिल्लाका शैक्षिक संस्थाको पठनपाठन पछि पुर्ति गर्नेगरी बन्द गरिने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।

२०७४ साल वैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचनको लागि मतदानकेन्द्र विद्यालय भवन तथा कम्पाउण्डभित्र समेत राखिने भएकाले मतदान सम्पन्न नभएसम्म पठनपाठन, परिक्षा सञ्चालन र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।