संघीय समाजवादी फोरमको चुनावी नारा सार्वजनिक

चन्द्रागिरि ।
संघीय समाजवादी फोरमले चन्द्रागिरि नगरपालिकाबाट आसन्न स्थानीय निकायको निर्वाचनमा मेयर पदमा रणजित चन्द्र प्रधान तथा उपमेयरमा मैँया महर्जनलाई उम्मेदवार बनाएको छ । शनिबार चन्द्रागिरि नगरपालिकाको सतुंगलमा आयोजित उम्मेदवारी परिचयात्मक कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी लगायतका नेताको उपस्थितीमा नेता यादवले पार्टीको डेढ दर्जनभन्दा धेरै प्रतिबद्धताहरु सार्वजनिक गरे । कार्यक्रममा बोल्दै यादवले नयाँ नेपाल बनाउन सबै नेपाली मिल्नुको विकल्प नरहेको भन्दै सबै उद्पीदित जात जाति भाषा भाषी पहिचान को मुद्दाको  मागहरुका सम्बन्धमा सरकारले यथासक्य सुनुवाई गर्ने बताए । त्यस्तै शक्तिकी नेतृ हिसिला यमीले २ दशकपछि हुन गइरहेको स्थानीय निर्वाचनपछि सबै नेपालीको चाहना सम्बोधन हुनेमा विश्वास दिलाइन् ।

चन्द्रागिरि नगरपालिकामा मेयर पदका उम्मेदवार रणजीत चन्द्र प्रधानले पार्टीका तर्फबाट आफ्नो चुनावी प्रतिबद्धताहरु सार्वजनिक गर्दै भ्रष्टचारमुक्त नगरका स्थानीय निकायहरु, सहज र सुलभ सेवाको व्यवस्था, स्थानीय तहमा स्थापना हुने र भएका औद्योगिक संस्थाहरुमा ५० प्रतिशत स्थानीय श्रमिकको व्यवस्था आदिको लागि पहल गरिनेमा जोड दिए ।
घर घरमा पानी, स्थानीय सार्वजनिक एवं गुठीका नाममा दर्ता भएका जग्गा जमिनहरुको उचित संरक्षण, नयाँ विकास निर्माणका क्रममा हुने क्षतिका लागि उचित मुआब्जा, राहत तथा पुनर्निमाण प्रक्रियामा छुट भएका भुकम्पपिडितहरुका लागि उचित राहतको व्यवस्था आदि समेत उनको चुनावी प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । सार्वजनिक पार्क तथा केवलकार प्रवेशमा आफ्ना मतदाता लगायत अन्य स्थानीयका लागि ५० प्रतिशत छुटको व्यवस्था तथा हाल नगरपालिकाले स्थानीयहरुसँग लिने विभिन्न करहरुमा ५० प्रतिशतसम्म कम गरिने संघीय समाजवादी फोरम नेपालको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

कार्यकर्ममा खिचेका केहि तस्बिरहरु