झाडापखालाका बिरामी बढे, चिकित्सक भन्छन् – ‘जारको पानीमा समस्या छ’

चन्द्रागिरि ।

उपत्यकामा झाडापखाला र हैजाका बिरामीको संख्या बढेको छ । टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १० देखि १२ जनासम्म बिरामी पुग्ने गरेका छन् । टेकुसंगै वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, सिभिल अस्पताल, पाटन अस्पतालमा पनि झाडापखाला लगायतका बिरामीको चाप बढेको छ ।

हिउँदको भन्दा गर्मी समय सुरु हुनेवित्तिकै अस्पतालमा बिरामीको चाप बढ्छ भने वर्षा लागेपछि यो संख्या झन बढ्ने गरेको टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

‘गर्मीमा यसै पनि विरामी धेरै हुन्छन्, हिउँदको तुलनामा । वर्षा लागेपछि बिरामीको संख्या झन थेगिनसक्नु हुन्छ’ उहाँले भन्नुभयो ।

काठमाडौँ देशको राजधानी । तर यही राजधानीका देशका अन्य ठाउँको तुलनामा बिरामीको संख्या बढ्दो छ । त्यो पनि झाडापखालाको । सरसर्ती हेर्दा देशकै राजधानी जस्तो ठाउँमा यसरी विरामीको चाप नबढ्नुपर्ने हो । तर एकपटक काठमाडौं आएका र यही काम गर्ने जोसुकैलाई पनि काठमाडौंमा झाडापखालाका बिरामी बढ्नु स्वभाविक लाग्छ । तर कारण अर्को पनि छ ।

‘जारको खानेपानीमा समस्या’

काठमाडौंमा मेलम्चीको पानी आउँछ भन्न लागेको २० वर्ष पुग्यो । तर अझै एक वर्षसम्म मेलम्चीको पानी नआउने लगभग निश्चित छ ।

खानेपानीदेखि दैनिक प्रयोग गर्ने पानीको अभावले काठमाडौं उपत्यकाका नागरिक आकुल व्याकुल छन । यस्तो खानेपानीको सबैभन्दा भरपर्दो विकल्पका रुपमा प्रयोग हुने ‘जारको पानी’मा समस्या रहेको चिकित्सकले बताएका छन् ।

सबै खानेपानीका जारमा समस्या नरहे पनि नजिकको खोला वा मुलको पानी सिधै भरेर पसल पसलमा पु¥याउने खानेपानीमा समस्या रहेको डाक्टर पुनको भनाई छ, उज्यालो अनलाइनमा खबर छ ।

‘सबै जारमा समस्या छैन । तर केही जार यस्ता छन् । नजिकको खोला वा मुलबाट सिधै  पानी भरेर पसलमा पुर्याइएको छ । पसलमा राखिएको पानी किनेर खानेले पनि पानी नउमालेरै खाएपछि झाडापखाला देखिएको हो’ उहाँले भन्नुभयो ।
त्यसरी झाडापखाला लाग्ने बिरामी निम्न आय भएका नागरिक रहेका डाक्टर पुनको भनाई छ । जारको पानी किन्दा र पिउँदा पनि कुनै सजगता नआउने भएकाले उनीहरुमा सजिलै झाडापखालाको संक्रमण बढेको हो । खानेपानीका श्रोतमा ‘कोलिफर्म’ भेटिनुले पनि काठमाडौँ उपत्यकामा पाइने पानी नउमालिकन पिउदा विरामी पर्न सकिने चिकित्सकको सुझाव छ ।

जीवनशैली फेरियो, तर बानी फेरिएन

गाउँ होस या शहर । धेरैको जीवनशैली फेरिएको छ । तर बानी अझै फेरिएको छैन । पहिला खुल्ला ठाउँमा दिशापिसाव गर्नेहरु हिजोआज शौचालय जाने गरेका छन । हात धोएर पनि खाना खाने गरेका छन् ।

तर पानी पिउँदा सफा हो की फोहोर, उमालेको हो की नउमालेको ? वास्तै नगरी पिउनाले पनि बर्षायाममा झाडापखालाका विरामी घट्न नसकेका हुन ।

टेकु अस्पतालका डाक्टर पुन भन्नुहुन्छ–‘हाम्रो जीवनशैली पहिलाको भन्दा धेरै फेरिएको छ । सफा सुग्घर भएर बस्न र हिड्न पनि सबैले थालेका छन । तर पानी पिउदा विचार नपु¥यादा झाडापखालाको संक्रमणमा पर्ने गरेका छन ।’

झाडापखाला दिशामा हुने किटाणु ‘कोलिफर्म’ पेटमा पुगेपछि मात्रै हुन्छ । यसबाहेक अरु कारणबाट झाडापखाला हुन सक्दैन ।

तर दूषित पानी र पानीजन्य किटाणुबाट झाडापखाला मात्रै नभई हैजा लगायतका सरुवा रोग लाग्छन । त्यसैले स्वास्थ्यका लागि सफा सुग्घर भन्दा बढी जीवनका लागि सफा पानी पिउन जरुरी रहेको डाक्टर पुनको सुझाव छ ।

‘सफा पानी स्वास्थ्यका लागि मात्रै होइन, जीवनका लागि आवश्यक छ’ डाक्टर पुनले भन्नुभयो ‘सफा सुग्घर भएर हिड्न जति आवश्यक छ, जीवनका लागि स्वच्छ पानी पिउन त्यति नै जरुरी छ ।’