नेपालमा कोभिड बिरामीका आँखा बिगार्ने घातक कालो ढुसी

कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात्‌ एक प्रकारको कालो ढुसीको सङ्क्रमण नेपालमा अहिलेसम्म झन्डै एक दर्जन मानिसमा पुष्टि भएको विवरण आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बताएका छन्।

दश दिनअघि मन्त्रालयले तीन-चार जनामा उक्त घातक कालो ढुसीको सङ्क्रमण देखिएको बताएको थियो।

“विभिन्न ठाउँबाट गरी अहिलेसम्म हामीकहाँ म्यूकोर्माइकोसिसका करिब १२ वटा रिपोर्टिङ भएका छन्,” नवनियुक्त प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सोमवार भने।

उनका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाण्डूलगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएका हुन्।

भारतमा ‘ब्ल्याक फङ्गस’ अर्थात्‌ कालो ढुसीबाट हजारौँ मानिस सङ्क्रमित भएको विवरण सार्वजनिक भएका छन्।

केही दिनअघि उत्तर प्रदेशका एउटै बिरामीमा ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको विरल सङ्क्रमण देखिएको बीबीसी हिन्दीले जनाएको थियो। बीबीसीबाट