निको भएका बिरामीमा पोस्ट कोभिडको जोखिम

काठमाडौंँ । कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले कोरोना सङ्क्रमित निको भएपछि पोस्ट कोभिडका लक्षण देखिएको जानकारी दिनुभयो । उहाँले पोस्ट कोभिडका कारण कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु हल्लिएको अनुभूति हुने, फोक्सो, मिर्गौला, छाला, आँखाको समस्या हुने बताउनुभयो ।

पोस्ट कोभिड भएका बिरामीमा मनोपरामर्श आवश्यक रहेको बताउँदै भन्नुभयो, “विशेष गरी पोस्ट कोभिडका लक्षण सघन कक्षमा पुगेर निको भएका बिरामीमा देखिएको छ ।”

अस्पतालमा हुँदा अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ कि भन्ने मनोभाव हुन्छ । फेरि पनि समस्या आउँदा धेरै डराउने भएका कारण मनोपरामर्शको आवश्यकता रहेको जानकारी दिनुभयो ।

पोस्ट कोभिडका लक्ष युवा नै धेरै देखिएको र अस्पतालमा ५० प्रतिशत जति यस्ता बिरामी आएको डा. पुनले जानकारी दिनुभयो  । यो खबर आजको गोरखपात्र दैनिकमा छापिएको छ ।