के हो एक्कासी सुन्ने क्षमता हराउने रोग ? के कारणले यस्तो हुन्छ ?

डा.बिज्ञान राज ज्ञवाली,
MBBS, MS-ENT, MRCS-ENT(U.K.), FICS
T.U. Teaching Hospital and AnD Clinic, Thankot
कान नाक तथा घाँटी रोग विशेषज्ञ

कान हाम्रो एउटा संवेदनशील अंङ्ग हो र सुनाई हामीलाई दैनिक जीवनमा चाहिने एउटा अत्यावश्यक प्रणाली हो । सुनाईमा कमी आएमा हाम्रा अनेक दैनिक तथा पेशागत कामहरुमा नराम्रो प्रभाव पर्ने गर्दछ । कानको सुनाईमा बाहिरी, मध्य वा भित्री कानमा समस्या भयो भने कमी आउने गर्दछ । भित्री कानको समस्याले गर्दा हुने सुनाईकोकमीलाई सेनसरी न्युरल हियरिङ्ग लस भनिन्छ र यसकै एउटा
प्रकार हो सडन सेन्सोरी न्युरल हियरिङ्ग लस ।

को हो सडन सेन्सोरी न्युरल हियरिङ्ग लस ?
एक्कासी कानको सुनाई जाने रोगलाई सडन सेन्सोरी न्युरल हियरिङ्ग लस (SSNHL) भनिन्छ । बैज्ञानिक भाषामा यदी कुनै कानको सुनाई ७२ घण्टा भित्र कम भएको छ र सुनाईको जाँचमा सुनाई शक्ति ३० डेसीवेल वा त्यो भन्दा बढीले कम्तीमा तीन वटा ध्वनीको प्रिक्वेन्सीमा कम देखियो भने त्यसलाई (SSNHL) भनिन्छ । यो हाम्रो शरीरमा हुने हृदयघात,मस्तिष्कघात जस्तै एउटा
आपतकालिन अवस्था हो । यसलाई समयमै चिकित्सा नगरिए कानको सुनाई सधैका लागि प्रभावित हुन सक्छ ।

कसमा देखिन्छ यो रोग ?
यो रोग जुनैपनि उमेरमा देखिएता पनि प्रायःजसो ठूला मानिसमा नै देखिन्छ ।महिला र पुरुष दुवैमा देखिने यो रोग जसलाई पनि हुन सक्छ ।

कारणहरुः
बैज्ञानिक अध्ययनहरुले धेरै कारणले गर्दा यो रोग हुन सक्ने देखाएका छन्। तर प्राय जसो बिरामीहरुमा कुनै कारण भेटिदैन र यसलाई हामीले ae इडियोप्याथिक ae भन्ने गर्छौ । अन्य कारणहरु मा भाइरल इन्फेक्सन, अटो इम्युन, कानको नशाको ट्युमर, रगतको क्यान्सर, औषधी (ओटोटक्सिक मेडिकेसन), कानमा चोट पटक, उच्च रक्तचाप इत्यादी हुन सक्छन्।

लक्षणहरुः
यदी कानको सुनाई पहिलेको अवस्थाभन्दा एक्कासी या २-३ दिनको अन्तरालमा कम हुन्छ भने त्यो SSNHL हुन सक्ने सम्भावना धेरै हुन्छ ।प्राय जसो मानिसमा सुनाईमा कमी आउनुको साथै कान कराउने र रिङ्गटा लाग्ने सम्भावना पनि हुन्छ ।

यस्ता लक्षण देखिएमा के गर्ने ?
यदी तपाईलाई यी समस्याहरु देखिएका छन्भने तुरुन्तै कान, नाक तथा घाँटी रोग विशेषज्ञलाई देखाई आवश्यक जाँच गराउनुपर्दछ । हामीलेयो रोग बिरमीको गुनासो र सुनाईको जाँचबाट पत्तालगाउने गर्दछौं ।यदी SSNHL देखिएमा रोगको कारणहरु पत्ता लगाउन अन्य जाँचहरु गराउनु पर्दछ र छिटो भन्दा छिटो चिकित्सा शुरु गर्नुपर्दछ ।

किन जरुरी छ अत्यावश्यक सेवा?
विशेषत यो रोग जुनसुकै कारणले भएतापनि सुक्ष्म तहमा भित्रीकानको रक्त सञ्चालनमा कमी आएर हुने गर्दछ । बैज्ञानिक अध्ययनहरुले ७२ घण्टा भित्र चिकित्सा शुरु गरेमा, सुनाई पहिलेको अवस्थामा आउने वा धेरै मात्रामा सुधार हुने देखिएका छन । चिकित्सामा ढिलो गर्नाले सुनाईमा सुधार आउने सम्भावनापनि घट्दै जान्छ ।

समयमा उचित चिकित्सा गरे के सुनाई सामान्य हुन्छ ?
कुन बिरामीको उपचारको परिणाम कस्तो हुन्छ भन्ने कुरा हामीले १०० प्रतिशत ठेक्का राखेर भन्न सक्दैनौ । तर हामी शुरुकै अवस्थामा केही प्यारामिटरहरु हेरेर सुनाईको परिणाम कस्तो हुन सक्छ भनेर अनुमान चाँहि लगाउन सक्छौं ।
जस्तै युवा अवस्थाको विरामीमा ,सुनाई धेरै कम नभएको बिरामीमा, चिकित्सा ७२ घण्टा भित्रनै शुरु गरेमा, रगतमा ESR को मात्रा कम भएमा, अन्य कुनै रोग जस्तै थाइरोइडको समस्या,उच्च रक्तचाप, मधुमेह आदि नभएमा सुनाईमा सुधार हुन सक्ने सम्भावना प्रवल हुन्छ ।

सुनाई पुरै गएमा औषधी बाहेक अरु के उपाय हुन्छन् ?
सुनाईमा सुधार नआए अन्य उपाय भनेको श्रवण यन्त्र हो । यदि सुनाई धेरैनैकम छ र श्रवण यन्त्रले पनि काम गरेन भने कक्लियर इम्प्लान्ट गरेर सुनाईमा सुधार ल्याउन सकिन्छ ।