आजबाट निषेधाज्ञा खुकुलो, निजी सवारीमा जोर-बिजोर लागु

काठमाडौं- काठमान्डौ उपत्यकाको डेढ महिनादेखि जारी निषेधाज्ञा आजबाट खुकुलो बनाइएको छ । आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ ।

उपत्यकाको तीन जिल्लाका बसेको संयुक्त बैठकले गरेको निर्णय अनुसार व्यावसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाइएको हो ।

निषेधाज्ञा खुकुलो बनाइएको आज पहिलो दिन नै उपत्यकामा बिहानबाट नै निजी सवारी साधनका चहलपहल देखिएको छ । ठाउँ ठाउँमा सवारी चेकजाँचका लागि ट्राफिक प्रहरीहरु खटाइएको छ ।

आजदेखि उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ । यी पसल आइतबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

त्यस्तै सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ । खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर, स्टेसनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ । होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ । सार्वजनिक सवारी साधन अझै पनि सञ्चालनमा आएको छैन ।

नित्यकर्मबाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह ब्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँमा गर्न पाइने छ । यसका लागि दुई वटा सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

अब घरबाट निस्कन पाइने भएको छ । तर स्वास्थ्यका मापदण्ड भने पालन गर्नुपर्नेछ । सार्वजनिक सवारीसाधनलाई भने आउँदो १४ गते रातिसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ ।