आज नागपञ्चमी

काठमाडौं, साउन १०- साउन शुक्ल पञ्चमीका दिन सनिवार सर्वत्र नाग पूजा गरी मनाइँदै छ । नागको पूजा अर्चना गरिने दिन भएकाले नै यो दिन नागपञ्चमी कहलिएको हो ।

वर्षाले गिलो भएको जमिनबाट ओभानो स्थानमा नाग आउने जोखिम भएकाले यो दिन नागको पूजा गरी मनाउने गरिएको विश्वास गरिन्छ ।
हिन्दु धर्मका शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म यी आठ नागको विशेष वर्णन गरिएको छ । नागपञ्चमीमा यिनै नागको स्मरण गर्दै पूजाअर्चना गर्ने प्रचलन छ ।

काठमाडौँ सिनामङ्गलका कर्मकाण्डी व्राह्मण मनोज भण्डारीका अनुसार हरिशयनी एकादशीका दिन नारायण शेषनागमा जलशयनी हुने र हरिबोधनीका दिन जलबाट धर्तीमा आउने गर्छन् । यस अवसरमा चोखो कपासको नाग बनाएर इनार, कुवा, दह, खोलालगायतका पानीका स्रोत नजिकै पूजा गर्ने परम्परा रहिआएको छ ।

यस्तै घरको प्रवेशद्वारमा नागको तस्बिर टाँस्ने र दुबो, दूध चढाएर धूप धुँवार गर्ने चलन पनि छ ।
भक्तपुर चाँगुनारायणस्थित कलामसी–८ मा रहेको पाँचटाउके कल्पेश्वर नाग, काठमाडौँमा भचाखुसीमा रहेको घोडेनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, ठमेल गल्कोपाखाको हरिनाग, थानकोटको नागढुङ्गा, टौदह, टुँडिखेलको मीननाग र पुशपतिनाथका द्वारपालका रूपमा पूज्य वासुकी नागको यो दिन भव्य पूजा गरिन्छ ।

यी नागको अर्चना गर्दा वर्ष दिन सहरवासीलाई नागदोषले पिरोल्दैन भन्ने मान्यता रहेको वटु नाथेश्वर गुठीका भाइकाजी महर्जन बताउनुहुन्छ । यी नागमा पञ्चमीका दिनबाहेक पनि अर्चना गर्ने गरिँदै आएको छ ।