आज रङको पर्व फागु पूर्णिमा मनाइँदै

356
holi festival of colors

काठमाडौं-फाल्गुण शुक्ल पूर्णिमा अर्थात् फागुपर्व, देशका हिमाली तथा पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर मनाउने चलन छ। फागु पर्व होली नामले पनि चिनिन्छ।

शास्त्रअनुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रह्लाद असाध्यै विष्णु भक्त थिए । उनको विष्णु भक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रह्लादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछ । तर प्रह्लादलाई केही हुँदैन । हिरण्यकश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रशन्न भएर अग्नि देवले आगोले छुन नसक्ने वरदान दिएको थियो ।

यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रह्लादलाई अग्निमा दहन गर्ने योजना बनाउँछ । सो योजनाअनुसार होलिका प्रह्लादलाई काखमा राखी अग्निमा बस्दछ तर प्रह्लादको सच्चा भक्तिले गर्दा होलिका जलेर मृत्यु हुन्छ तर भक्त प्रह्लादलाई आगोले छुदैन । यसैको खुसियालीमा होली पर्व मनाउन थालिएको हो ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएपछि सकिन्छ। तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ।

फागुपर्वलाई विशेषगरी नेवारी समुदायमा महिला लक्ष्यित पर्वका रुपमा लिने गरेको पाइन्छ । होलीका परम्परागत लोकभाका र गीतसङ्गीत पनि महिला र यौनसँग सम्बन्धित रहेका छन् । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूल फुल्न थाल्ने मनोरम वातावरणले मानिसको मन मष्तिस्कसमेतमा एक खालको तरङ्ग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्हरुको भनाइ रहेको छ ।

संस्कृतिविद्हरुका अनुसार १७औँ शताब्दीदेखि यस्तो चलन चलेको हो । संस्कृतिविद् एवम् इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले प्राचीनकालदेखि नै समाज पुरुष प्रधानका रुपमा विकास भएसँगै महिलालाई यौनको प्रतीकका रुपमा लिने र महिलालाई यौन चाहना पूरा गर्ने साधनका रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिला लक्ष्यित गीत सङ्गीत गुञ्जने गरेको बताए ।

फागु विजयको हर्षोल्लासका रुपमा एकापसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफँैभित्र हराउने पर्व तथा तनमन रङ्गाउने पर्वका रुपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आआफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकापसमा अबिर दलेर टोल छिमेक परिक्रमा गरी मनाउने गर्दछन् ।

युगौँदेखि मनाइँदै आएको फागुपर्वलाई अहिलेका युवा पुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागुपर्व सामाजिक विकृतिका रुपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गीविरङ्गी रङ एकआपसमा लगाएर वातावरणलाई नै रङ्गिन बनाई मनाइने फागुपर्वमा युवापिँढीले उच्छृङ्खल क्रियाकलाप गर्दा त्रासको पर्वमा परिणत भएको संस्कृतिकविद्हरुको भनाई छ ।