बैशाख ६ गते । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीया महिला कोरोना भाइरस मुक्त हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसाेलेसनमा उपचाररत महिलाको तेस्रो र चौथो स्वाब परीक्षणमा नेगेटिभ आएपछि कोरोना मुक्त हुनुभएको हो ।
बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको भेटिएपछि उहाँ कोरोना मुक्त हुनुभएको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेट डा. शैलेन्द्र बि. पाेखरेलले जानकारी दिनुभयो ।
कोरोना मुक्त भएसँगै उहाँलाई अस्पतालबाट घर पठाउने तयारी गरिएको पोखरेलले बताउनुभयो । ‘हामी उहाँलाई घर पठाउने तयारी गरेका छौं, शनिबार साँझ नभए आइतबार विहानै घर पठाउछौं, उहाँलाई नियमित दिइरहेकाे औषधी दिने र दुई साता होम क्वारेन्टाइनमै बस्ने गरी डिस्चार्ज गछौं ।’ पोखरेलले भन्नुभयो ।
संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए ।
ती मध्य काठमाडौंमा उपचाररत दोस्रो संक्रमित र बागलुङमा उपचाररत छैठौ संक्रमित एकै दिन कोरोना मुक्त भएका छन् । पाँचौ संक्रमित युवतीको भने चौथो रिपोर्ट समेत पोजेटिभ आएकाले अस्पतालमा उपचार गराइरहनुभएको छ ।साभार: गोरखापत्र अनलाइन
Leave a Reply
You must be logged in to post a comment.