नौबिसे-नागढुंगा सुरुङ मार्गको सडक धार्के नजोडिने, धादिङ तर्फ ५६५ मिटर मात्र सडक विस्तार

1126

काठमाडौं । जापानी कम्पनी हाज्माले नेपालकै पहिलो नागढुंगा–नौबिसे सुरुङ मार्ग बनाउने जिम्मा पाएको छ । जापान सहयोग नियोग जाइकाको सहुलियत ऋण सहयोगमा निर्माण हुने सुरुङ मार्गको ठेक्का पनि जापानी कम्पनीले नै पाएको हो । नागढुंगा–नौबिसे सुरुङ मार्ग बनाउन ५ चिनियाँ र एक जापानी कम्पनीले आवेदन दिएका थिए । ठेक्का आव्हान गरेको ठिक एक वर्षपछि निर्माण कम्पनी छानिएको हो ।

जापानी कम्पनीसँग अगष्ट ३० तारिखका दिन ठेक्का सम्झौता हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सहसचिवले जानकारी दिएका छन् ।

यस्तो हुनेछ सुरुङ मार्ग

नेपालमै पहिलो पटक सडकमा निर्माण हुन लागेको सो सुरुङ मार्गको लम्बाई २.६८८ किलोमिटर रहेको छ । दुई लेनको सुरुङमार्गमा ३.५ र ३.५ मिटरका दुई वटा लेन र १.५ मिटर चौडाईको इमर्जेन्सी ट्रयाक रहनेछ ।

सुरुङको चौडाई भने ९.५ मिटरको हुनेछ र उचाई ५ मिटरको हुनेछ । सुरुङमा पुग्न काठमाडौं तर्फ मुल सडकबाट २.३७० किलोमिटर बाटो विस्तार गरिनेछ भने धादिङ तर्फ ५६५ मिटर सडक विस्तार गरिनेछ । काठमाडौं खण्डमा पर्ने २६७ रोपनीमा र धादिङ खण्डमा पर्ने १०९ रोपनी जमिन अधिग्रहण हुनेछ । मुआब्जा वितरण गरिने जग्गामध्ये धेरै श्री ५ को वायु गुठीको नाममा छ।

सरकारले मुआब्जाको रकम आफ्नै श्रोतबाट उपलब्ध गराउनेछ भने सुरुङ निर्माणका लागि जाइकाको सहुलियत ऋण उपयोग गरिनेछ । काठमाडौं तर्फ सुरुङ मार्गको प्रस्थान विन्दु टुटीपाखा हुनेछ भने धादिङमा सिस्नेखोला हुनेछ ।

सुरुङ मार्गमा इन्धन बोक्ने गाडी तथा मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ । सुरुङ मार्गको उपयोग वापत २५ रुपैंयाँ शुल्क असुल्ने तयारी छ ।

मार्ग निर्माणका लागि जापानले ०.०१ प्रतिशतको ब्याजदरमा ४० बर्षका लागि सहुलियत ऋण दिएको छ । जापानले १६ अर्ब २८ करोड रुपैंयाँ ऋण सहयोग उपलब्ध गराएको हो । निर्माण सम्पन्न भएको १० बर्षपछि सम्म ऋणको सावाँ तथा ब्याज तिर्नुपर्ने छैन् । त्यसपछिको ३० बर्ष भित्र भने नेपालले सावाँ तथा ब्याज दुबै भुक्तानी गरि सक्नुपर्नेछ । नागरिक पाटि बाट