
चन्द्रागिरि।
एक मैत्रिपुर्ण फुटबल खेलमा नेपाल भारतसँग २-० गोलले पराजित भएको छ ।
पहिलो हाफको अन्त्यतिर नवयुग श्रेष्ठले पाएको सुवर्ण मौका गुमाएपछि मध्यान्तरमा खेल गोलरहित बराबरीमा सकिएको थियो। उनले गोलरक्षक बिट भइसकेको अवस्थामा बललाई पोष्टको दिशा दिन चुकेका थिए।
दोश्रो हाफको ६०औं मिनेटमा संदेश झिंगनले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। झिंगनले आफ्नो बायाँ खुट्टाले प्रहार गरेको भली आदित्य चौधरी र कमल श्रेष्ठको बीचबाट जाँदै गोलरक्षक किरणलाई कुनै मौका नदिई गोलमा परिणत भएको थियो।
खेलको ६८औं मिनेटमा नेपालका कप्तान विराज महर्जनले रातो कार्ड खादैं मैदान छाडेका थिए। उनले भारतीय खेलाडी विकास जाइरुलाई गोलरक्षकसँग वान भर्सेस वान हुने अवस्थामा बक्सबाहिर तानेपछि रेफ्रीले कप्तान महर्जनलाइ रातो कार्ड देखाएका थिए।
भारतले खेलको ७८औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेको थियो। मोहमद रफिकले उपलब्ध गरेको पासलाई पहिलो टचमा गोल गर्दै जेजे लाल्पेखलुआले भारतलाई २-०ले अगाडी बढाएका थिए।