अर्को केवलकार बनाउदै चन्द्रागिरी समुह, स्थानीयलाई १५ प्रतिशत शेयर

कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) जानकारी दिए ।

उनका अनुसार सिक्लेसको एक हजार ५०० मिटरको उचाइ भुलकुचाबाट शुरु भई तीन हजार ८०० मिटर उचाइको अन्नपूर्ण बेसक्यामस्थित कुरीमा केबुलकार सञ्चालन हुनेछ । चन्द्रागिरि केबुलकार टिमको सक्रियतामा निर्माण गरिने सिक्लेस–कोरी केबुलकारअन्तर्गत समुद्री सतहबाट लगभग दुई हजार ५०० मिटरको उचाइमा चताखर्कामा १२० बेड क्षमताको रिसोर्ट निर्माण गरिने बताइएको छ ।

विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) एवं वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य भइरहेको जानकारी दिँदै उनले यसको कूल लागत रु छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । केबुलकारको १५ प्रतिशत शेयर स्थानीय बासिन्दालाई वितरण गरिने व्यवस्था मिलाइएको छ ।

अन्नपूर्ण हिमालको उच्च बुकेनीफाँटमा नेपालको मध्यविन्दु स्तम्भ उद्यानसमेत निर्माण गरिने लक्ष्य राखिएको उक्त केबुलकार चन्द्रागिरि समूहले निर्माण गर्ने भएको हो । नीति तथा कार्यक्रममा केबुलकारसँगै पर्यटनलाई गाउँपालिकाको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको उल्लेख गर्दै उनले पर्यटकीय गन्तव्य विकासका लागि भौतिक संरचना निर्माणमा जोड दिइएको बताए ।रासस