आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै मातातीर्थसम्म, माथिल्लो त्रिशूली थ्री ए परीक्षण प्रसारण

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आजदेखि हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ ।

कूल २२० केभी क्षमताको सो प्रसारण लाइनको परीक्षण हुने भएकाले प्रसारण लाइनको टावर वरपरको दाँयाबायाँ १५/१५ मिटर क्षेत्रभित्रको स्थानमा जान वा प्रवेश नगर्नसमेत प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।

तोकिएको स्थानमा प्रवेश नगर्न नगराउन तथा कुनै विद्युतीय दुर्घटनाको जोखिममा नपर्नसमेत प्राधिकरणले आग्रह गरेको छ ।

चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यही वैशाख १७ गते विद्युत् उत्पादन नगर्ने गरी विद्युतीय उपकरणसहित अन्य संरचनाकोसमेत परीक्षण गरिएको थियो ।

‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी, पहिरो तथा अन्य प्राकृतिक विपदमा परेको सो आयोजनालाई पछिल्लो समय प्राधिकरणले विशेष चासो दिएर निर्माण सम्पन्न गरेको हो ।

रसुवा र नुवाकोटमा निर्माण भएको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् १७ वैशाखबाट उत्पादनको लक्ष्य राखिएको थियो । तर, आयोजनाका संरचना तथा त्यहाँ रहेका उपकरणका परीक्षणमा समय लागेकाले व्यावसायिक रूपमा विद्युत उत्पादन केही ढिलाइ भएको थियाे ।

प्राधिकरणका अनुसार पहिलो चरणमा आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गरिनेछ । यस्तै दोस्रो युनिट भने आगामी असारदेखि सञ्चालनमा ल्याउने तयारीमा छ ।