उफ ! कलंकीको जाम

चन्द्रागिरि ।

काठमाडौैंको कलंकी–नागढुङ्गा सडक विस्तारले गति लिन नसक्दा तीन बर्षदेखि सर्वसाधारण यात्रु सास्ती व्यहोर्दै अाएका छन् । सडक विस्तार समयमा पुरा नहुँदा यो मार्ग प्रयोग गरेर राजधानी भित्रने र बाहिरिने यात्रुहरुले सबैभन्दा बढि मार खेप्नु परिरहेको छ ।

आर्थिक वर्षको समाप्तीतिर सडक विस्तारले तिव्रता पाएपनि केही दिनयता उक्त सडकमा घन्टौ जाम हुन थालेको छ जसको असर राजधानीको जाम धादिङको नौबिसेसम्म पुग्ने गरेको छ ।

नौबिसे खानीखोलादेखि नागढुङ्गासम्मको सडक जिर्ण हुँदा पनि जाम बढेको छ । साँघुरो सडकमा लामा ढुवानीका साधन चल्ने गर्दा घुम्तीहरुमा बढी जाम हुने गरेको छ । बिच सडकमा सवारी साधन बिग्रिएमा तत्काल हटाउने उपकरण नहुँदा पनि जामको समस्या दोहोरिने गरेको छ । नागढुङ्गा नाका भएर दैनिक १४ सय हाराहारी यात्रु बस ओहोरदोहोर गर्छन् जसमा दैनिक ६० हजारको हाराहारीमा यात्रु आवतजावत गर्ने गर्दछन । उक्त मार्गमा गुडने ट्रक, निजी साना गाडी, दुई पांग्रे सवारीको संख्या उतिकै छ । सडकमा सवारी साधनको जाम हुँदा दैनिक एक लाख यात्रुले सास्ती व्यर्होनुपर्ने अनुमान ट्राफिक प्रहरीको छ ।

त्रिपुरेश्वर-नागढुङ्गाको १२ दशमलव ५ किलोमिटर सडक विस्तार तीन बर्षसम्म पनि पुरा नहुँदा जामको समस्या आएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म सडक विस्तारको तीस प्रतिशत काम मात्रै पुरा भएकाले अझै केही वर्ष जामको समस्या नहट्ने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ ।