कलंकी नागढुंङ्गा सडक चाँडो नबनाए आन्दोलन गर्ने तयारी

काठमाडौं, २८ असार । कलंकी नागढुंङ्गा सडक खण्डका कारण लाखौं जनताको जनधन तथा स्वास्थ्यमाथि गम्भिर असर पुर्‍याएको भन्दै छिटो र गुणस्तरीय बाटो विस्तार गरिनु पर्ने माग राख्दै युवाहरूले अान्दाेलन गर्ने तयारी गरेका छन् । यसका लागि ११ सदस्यीय कलंकी नागढुंगा अनुगमन तथा दवाव समिति गठन गरिएको छ ।

कलंकी नागढुंङ्गा बाटो निर्माणमा अत्याधिक ढिलाइ भई धुलो धुवाँ र हिलोले सर्वसाधारणको स्वास्थ्यमा गंम्भीर असर परेको कारण इश्वर लामाको अध्यक्षतामा ११ सदस्यिय दवाव समिति गठन गरिएको हो ।

 

कंलकी नागढुंङ्गा सडकको कारण धेरै जना दुर्घटनाको सिकार बनिसकेको र आमसर्वसाधारणको दैनिक जिवन कष्टकर भएको तथा ठेकेदारले काम गरेपनि झारा टार्ने काम गरिरहेको भन्दै दवाव समित गठन गरिएकाे हाे ।

‘लामाे समयदेखि सडक विस्तारकाे कार्य भइरहेपनि द्रुत गतिमा काम नहुँदा सर्वसाधारणले अत्यन्त रास्ती पाए, अब दिनदिनैकाे धुलाेधुँवा सहन सक्ने अवस्था भएन त्यहि भएर चाँडाे काम सक्न र गुणस्तरीय काम गर्न दवाव दिने उद्देश्यले दवाव समुह गठन गरेका हाैं ।’ अध्यक्ष इश्वर लामाले भने ।

तीन वर्ष भन्दा लामो समयदेखि सडक निर्माण कार्य भर्इरहेपनि सडक निर्माणकाे ठेक्का लिएकाे निर्माण कम्पनीले सडक निर्माणकार्यमा विभिन्न कारण देखाई झारो टार्ने कार्य गर्दै आईरहेकोले सरोकारवाला निकायहरुलाई दवाव दिनको लागि चन्द्रागिरि नगरपालिकाका प्रभावित सबै वडाहरुलाई समेटेर सशक्त दवाव दिन संघर्ष समित गठन गर्न बाध्य भएको मुल समितिका सचिव मोहन डाँगीले बताए ।

उक्त समितिले हिजो मात्र प्रधानमन्त्री केपि ओलीले कलंकी थानकोट सडक र अन्य सडकको खाल्डाखुल्डी व्यवस्थापनमा ५० दिनभित्र जनताहरूलाई महसुस हुने गरी सुधारका काम गर्ने भनी दिएको निर्देशनको स्वागत समेत गरेकाे छ । समितिले तत्काल प्रधानमन्त्रीको कार्यालय र सम्वन्धित निकायमा समेत ज्ञापनपत्र दिने तयारी गरेकाे दवाव समितिका संचार संयोजक रोसन दानीले बताए ।

बाटाेकाे विषयमा बारम्बार सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि चासाे नदेखाएपछि आजित हुँदै अान्दोलनका लागि तयारी गरिएकाे हाे । समितिका एक सदस्यले अान्दाेलनबाटै समस्या समाधान हुने देखेपछि अाफुहरू अब सडक बनाउनका लागि भएपनि संगठित भएकाे बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । साथै कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटीको दुरावस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

हिजाे नै ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राखेका थिए । उनले कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटी सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।