“कलंकी–नागढुङ्गा सडक खण्ड विस्तारको काम छिटो सम्पन्न गर”-संसदीय समिति

चन्द्रागिरि ।

संसदीय समितिले उपत्यकाभित्रका सडकहरुको तत्काल स्तरोन्नति गर्न सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसद विकास समितिको आज बसेको बैठकले उपत्यकाभित्रका सडकहरुको तत्काल विस्तार गर्न र बिजुलीका तारहरुलाई अन्डरग्राउन्ड गरी सडकहरुलाई तीन महिनाभित्र दुरुस्त बनाउन निर्देशन दिएको हो ।

समितिका सभापति रविन्द्र अधिकारीका अुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका र नेपाल विद्युत प्राधिकरणलाई उक्त निर्देशन दिएको हो । राजमार्गको सडक विकास एवं विस्तार गर्ने तथा सहरी यातायात विकास गर्ने प्रणालीलाई सुदृढीकरण गरी प्रभावकारी र गुणस्तरीय कार्यसम्पादन गर्न÷गराउन पनि सरकारलाई सचेत सभापति अधिकारीले जानकारी दिनुभयो । उपत्यकाभित्रको सडकलाई व्यवस्थित बनाउन सरकारलाई पुनः निर्देशन दिनु परेको अधिकारीको भनाई छ ।

समितिले त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक खण्ड विस्तारको काम छिटो सम्पन्न पनि गर्न सरकारलाई निर्देशन दिएको छ । सडक खण्ड विस्तारका लागि घर-जग्गाको मुआब्जा सम्बन्धि समस्या तत्काल समाधान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइएको हो ।

समितिले सडक विस्तारमा देखिएको समस्या छिटोभन्दा छिटो टुंग्याउन र सर्वोच्च अदालतको आदेश अनुसार पीडितहरुलाई कानुन बमोजिम क्षतिपूर्ति दिने व्यवस्था मिलाउन पनि भनेको छ । विकास समितिले मुग्लिन-नारायणगढ सडक यसै वर्षको अप्रिल महिनाभित्रै निर्माण सम्पन्न गरि सक्न पनि सरकारलाई पुनः निर्देशन दिएको छ ।