काठमाडौँमा साइकल ट्र्याक निर्माण गरिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले साइकलयात्रीको सुरक्षा र सुविधालाई ध्यान दिँदै काठमाडौँ महानगरमा साइकल ट्र्याक निर्माण गरिने बताउनुभएको छ ।

प्रथम साइकल दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लिखित शुभकामना सन्देश पठाउँदै प्रमुख सार्वजनिक यातायातको साधनका रुपमा बिजुलीबाट चल्ने मोनोरेलको शुरुआतसमेत गरिने उल्लेख गर्नुभयो ।

गतिशील मानव जीवनको प्रतीकका रुपमा साइकल चिनिएको हुँदा साइकलको प्रयोगमा सबैलाई प्रोत्साहित गर्नुपर्ने प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ ।

साइकलको ऐतिहासिकताबारे प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले शुभकामना मन्तव्यमा भन्नुभएको छ, “आरोग्य, खेलकूद र व्यायामका लागि संसारका सबैजसो भूभागमा साइकल प्रभावकारी साधनका रुपमा लोकप्रिय रहँदै आएको छ ।”