तेस्रो चन्द्रागिरी मेयर गोल्डकप कात्तिक ३० देखि

काठमाडौं (सुबास हुमागाईं) – तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन स्तरीय फुटबल प्रतियोगिता कात्तिक अन्तिमदेखि हुने भएको छ ।

आयोजक दीपशिखा समूहले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन स्तरीय फुटबल प्रतियोगिता कात्तिक ३० देखि मंसिर ७ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगिताको सहभागिताको लागि १४ टोलीलाई पत्राचार गरि सकिएको र सबै टोली आए १४ टोलीबीच खेल हुने प्रतियोगिता संयोज तथा पुर्व अन्तर्राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले जानकारी गराए । उनका अनुसार प्रतियोगितामा आयोजकको दुई टोलीसँगै ‘ए’ डिभिजनका १४ टोली रहने र त्यति नभए८ देखि १० टोलीको सहभागिता रहन सक्ने छ ।

आयोजकबाट दीपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिकाका १५ वडाबाट खेलाडी छनोट गरी अर्काे टोली तयार पारिनेछ । प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट स्वीकृति लिइसकेको छ ।

चन्द्रागिरी गोल्डकपमा अघिल्लो वर्ष देखि नै चन्द्रागिरी नगरपालिका जोडिएको छ । यसपटक पनि चन्द्रागिरीनगरपालिकाको सहयोग रहने नगरपालिकाका मेयर घनश्याम गिरीले बताए । ‘हामी अघिल्लो वर्षदेखि नै जोडिएका छौं । यसपटक अघिल्लो वर्षभन्दा केही बढी सहयोग हुनेछ ।’ पत्रकार सम्मेलनमा मेयर गिरीले भने, ‘मैदानको स्तरोन्नतिको लागि नगरपालिकाले लगातार सहयोग गर्दै आएको छ । सबै कुरा एकपटक सम्भव छैन । विस्तारै हुनेछ । चन्द्रागिरी गोल्डकपले पनि हरेक वर्ष स्तरोन्नती हुदै जानेछ ।’

आयोजक दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकीले तिहार लगत्तै मुख्य स्पोन्सर खोजिने बताए ।

यसवर्ष पुरस्कार राशिमा ५० हजार रुपैया वृद्धि गरिएको छ । यसवर्षको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । गतवर्ष ६ लाख र ३ लाख रुपैयाँ पुरस्कार राशि रहेको थियो । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत झन्डै ५० लाख रुपैया रहेको छ ।

पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो । खेलहरु चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा हुनेछ ।
तस्बिर:- नेपालन्युज