चिनियाँ मोडेलको चक्रपथः ७० प्रतिशत काम सकियो

चक्रपथको कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तार गरिसक्नुपर्ने म्याद ६ महिना मात्र बाँकी छ । हालसम्म ७० प्रतिशत काम भएको छ, ३० प्रतिशत बाँकी नै छ ।

बाँकी अवधिमा काम सक्न कठिन हुने देखिएको छ । चक्रपथ आयोजनाका इन्जिनियर निरञ्जन शर्मा भने समयमै काम सकिने दाबी गर्छन् ।

अहिले कोटेश्वरबाट सानेपासम्म दायाँ-बायाँको चार लेनमा सवारी साधन गुडिरहेका छन् । बीचको भागमा कालोपत्रे बिछ्याउने काम भइरहेको छ । इन्जिनियर शर्माका अनुसार कोटेश्वरबाट सातदोबाटोसम्म कालोपत्रेका लागि ‘बेस’ निर्माण सकिएको छ ।

आगामी असार मसान्तसम्ममा निर्माण सक्नुपर्ने सम्झौता छ ।

चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किमिको कोटेश्वर-कलंकी खण्ड विस्तार भइरहेको हो ।

हालसम्म कोटेश्वर, वागडोल र ग्वार्कोमा मात्र आकाशे पुल निर्माण भएको छ । एकान्तकुना, सातदोबाटो र सानेपामा आकाशे पुलका लागि जग हाल्ने काम मात्र भएको छ ।

सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने । सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।

खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण भने सकिएको छ ।

बल्खुदेखि कलंकीसम्मको सडकमा दायाँ-बायाँ ‘कटिङ’को काम भइरहेको छ । सडकको काम भने शुरु नगरिएको इन्जिनियर शर्मा बताउँछन् । ‘कटिङ सकिएपछि चिनियाँ कम्पनीले सडक निर्माण अगाडि बढाउनेछ,’ शर्माले भने ।

कोटेश्वरदेखि बल्खुसम्म ढलको काम सकिएको आयोजनाको भनाइ छ । फुटपाथ निर्माण अधुरै छ । चीन सरकारको करिब पाँच अर्ब रुपैयाँ अनुदानमा उक्त सडक विस्तार भइरहेको छ ।

अन्डरपास ८० प्रतिशत तयार

चक्रपथमा हुने जामलाई कम गर्नका लागि दुई ठाउँमा अण्डर पासको व्यवस्था गरिने भएको छ । यस्तो अण्डरपासको काम भने सकिन लागेको छ ।

आयोजनाका इञ्जिनियर शर्माका अनुसार अन्डरपास निर्माणको करिब ८० प्रतिशत काम सकिएको छ ।

अन्डरपासलाई दुई खण्डमा विभाजन गरिएको छ । कलंकी-बल्खु खण्डको अधिकांश काम सकिएको छ । उक्त खण्डमा फिनिसिङ मात्र बाँकी छ ।

कलंकीबाट बालाजुतर्फको खण्डमा कालोपत्रे बिछ्याउन बाँकी छ । त्यसका लागि ‘बेस’ निर्माण भइरहेको छ । उक्त खण्डमा आरसीसी पर्खालको निर्माण पनि अगाडि बढेको छ । अनलाइन खबर