जापानमा प्रचण्डले पनि राखे नेपालको शान, जापानी मुक्केबाज ढले

टोकियो, जापान १९ माघ । जापानमा पुनः अर्को मुक्केबाजले नेपालको शान चुल्याएका छन् । किकबक्सिङमा अविरल घिमिरेले लगातार एक पछि अर्को जित हात पार्दै नेपालको शान चुल्यारहेको बेला अर्का मुक्केबाज प्रचण्ड केसीले पनि नेपालको शानमा अर्को इटा थपेका हुन् ।

शनिबार राति जापानको टोकियोमा भएको भिडन्तमा प्रचण्डले जापानी मुक्केबाज आइहारालाई हराउँदै नेपालको झण्डा फहराउन सफल भएका हुन् । डाइनामिक ग्लोब नाम दिइएको भिडन्तमा नेपाली मुक्केबाज प्रचण्डले जापानका व्यवसायिक मुक्केबाज आइहारालाई हराएका थिए । तीन राउण्डको भिडन्तमा प्रचण्डले जापानी प्रतिष्पर्धीलाई अन्तिम राउण्डमा ढाल्दै रिङबाट नै नेपाल भ्रमण बर्षको प्रचार समेत गरेका थिए । ५३.५ किलो तौल समूहको खेलमा भएको भिडन्त हेर्न ठूलो संख्यामा नेपालीहरुको समेत उपस्थिति रहेको थियो ।

एक जापानी टेलिजिभन च्यानलले प्रत्यक्ष प्रसारण गरेको यो भिडन्तपछि जित हात पारेका प्रचण्डले साथ दिने सबैलाई धन्यवाद दिदै जितसंगै नेपाल भ्रमण बर्षको प्रचार पनि आफ्नो मुख्य ध्येय रहेको बताए ।