नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम गरिदै

काठमाडौं – नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु भएर अघि बढेको हो । निर्माण आयोजनाले सुरुङ खन्न आवश्यक पूर्वतयारीको काम तिहारअघि सकेर तिहारलगत्तै सुरुङ खन्ने काम अघि बढाउने तयारी भइरहेको जनाएको छ ।

आयोजना निर्माणका लागि वर्ष दिनअघि नै शिलान्यास गरिएको थियो । मुआब्जालगायतका विवादसँगै कोरोना भाइरस, लकडाउन, निषेधाज्ञालगायतका कारण निर्माण कार्य ढिलाइ हुन गएको हो ।

काठमाडौं उपत्यका भित्रने र बाहिरिने मुख्य नाकामा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी निर्माण संस्था हाज्मा-एन्डो जेभीले पाएको छ ।

सुरुङमार्ग निर्माणका लागि सडक विभागले समन्वय गर्दै आएको छ । सुरुङमार्गको काम थाल्न निर्माण स्थलनजिकै कार्यालय स्थापना गर्ने, जनशक्ति व्यवस्थापनलगायतका काम यसअघि नै गरिएको थियो ।

सुरुङमार्ग निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ कात्तिक २०७६ मा शिलान्यास गरेका थिए । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण र नेपाल सरकारको लगानीमा सुरुङमार्गको निर्माण कार्य अघि बढेको हो । सुरुङमार्ग निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग रहनेछ । उक्त ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । सुरुङमार्ग निर्माणको ठेक्का साढे २२ अर्ब रुपैयाँमा लगाइएको छ । जसमा ६ अर्ब नेपाल सरकारको लगानी रहनेछ ।

यो खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका हुन् ।