ललितपुरको महालक्ष्मी नगरपालिकामा ३० बेडको ‘कोभिड हाई केयर आइसोलेसन युनिट’ सञ्चालनमा

महालक्ष्मी नगरपालिकाले अक्सिजनसहित ३० बेडको हाइकेयर युनिट सुरु गरेको छ । महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित केयर एण्ड क्यूर मल्टिस्पेस्लिष्ट हस्पिटलबाट महालक्ष्मी नगरपालिकाका कोभिड-१९ का गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि कोभिड हाई केयर आइसोलेसन युनिट’ सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ।

महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित केयर एण्ड क्यूर मल्टिस्पेस्लिष्ट हस्पिटलबीच कोभिड हाई केयर युनिट सञ्चालनका लागि वैशाख २३ गते सम्झौता भएको थियो । सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख रामेश्वर श्रेष्ठ र केयर एण्ड क्युर अस्पतालको तर्फबाट डा. प्रेम देवानले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार सेवा प्रदान गरे वापत अस्पतालले नेपाल सरकारको निर्णय बमोजिमको शुल्क अस्पतालले शोधभर्ना पाउने छ । हाललाई कोभिड हाई केयर आइसोलेसन युनिटमा १० बेड सञ्चालनमा ल्याइएको छ र यसलाई क्रमश बढाइदै लगिनेछ।

विरामीको चाप अनुसार उक्त युनिटमा ३० बेडसम्म सञ्चालनमा ल्याइने नगर प्रमुख श्रेष्ठले जानकारी दिए। उनले अक्सिजन सपोर्ट आवश्यक पर्ने नगरभित्रका गम्भीर प्रकृतिका कोभिड १९ संक्रमितहरूलाई यो सेवाबाट राहत मिल्ने विश्वास व्यक्त गरे।