चन्द्रागिरि नगरपालिकाद्वारा सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिँदै

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिकाद्वारा ६० बर्ष माथिका स्थायी बसोबास गर्ने सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिने कार्य शुरु गरेको छ।

चन्द्रागिरि नगरपालिकाले यस नगरपालिकामा स्थायी बसोबास गर्ने ६० वर्ष माथिका सुगर र प्रेसरको नियमित औषधि प्रयोग गर्ने नगरबासीको लागि औषधि खरिद गर्न नगद अनुदानको सुबिधा उपलब्ध गर्ने कार्य शुरु गरेको हो।

नगरपालिकाले त्रैमासिक रुपमा सम्बन्धित व्यक्तिको बैंक खातामै उक्त अनुदान रकम पुग्ने व्यवस्था मिलाएको छ। प्रति रोगको मासिक रु ४०० र दुवै रोगको औसधि प्रयोगकर्ताले मासिक रु ८०० प्राप्त गर्नु हुनेछ।

पहिलो चरणमा वडाका स्वास्थ्य चौकी मार्फत औषधि वितरण गरिएकोमा विभिन्न प्रकार र कम्पनीको औषधि प्रयोग हुने भएकोले नगद अनुदान दिने कार्य शुरु भएको हो।

साथै नगर प्रमुख घनश्याम गिरीज्युले लगभग ७००० नगरबासीले यस सुबिधाको लाभ लिने आंकलन रहेको कुरा जानकारी गराउदै कसैको परिवार वा छर छिमेकमा कोहि यस सुबिधा बाट बन्चित हुनु भएको छ अथवा कोहि ६० वर्ष उमेर लाग्दै हुनुहुन्छ भने वहाहरुको विवरण सम्बन्धित वडा वा नगरपालिकाले सुरु गरेको घर दैलो नर्सिग सेवामा घर दैलोमा आउनुहुने नर्सहरुलाई विवरण टिपाएर यस सुबिधाको लाभ लिन समेत अनुरोध गर्नुभएको छ।