शिक्षकद्वारा चन्द्रागिरि नगरपालिका कार्यालयमा रिले अनसन सुर

काठमाडौं । विभिन्न माग राख्दै आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले शुक्रबारबाट रिले अनसन सुरु गरेको छ । देश भर प्रत्येक गाउँ तथा नगरपालिका, जिल्ला शिक्षा समन्वय ईकाइमा एकसाथ रिले अनसन गर्ने पूर्व निर्धारित तालिका अनुसार नै रिले अनसन बसेको अनसनमा सहभागि शिक्षकहरुले बताएका छन् ।

पटक–पटक आफ्नो मागका विषयमा सरकारलाई जानकारी गराउदा पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले चन्द्रागिरि नगरपालिका कार्यालयमा रिले अनसन सुरु गरेका हुन् ।

उनीहरुले चन्द्रागिरि नगरपालिका कार्यालय गेट अगाडि नै रिले अनसन दिएका छन् । विहान ८ बजेदेखि सुरु भएको अनसन दिउसो ४ बजे सम्म भएको बताइएको छ ।

उनीहरुले शिक्षक महासंघका सबैमागहरु प्रति सरकार गम्भीर नभए थप अन्दोलनका कार्यक्रमहरु घोषणा गरेर अघि बढ्ने बताए ।

आफू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ । संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्घि गर्ने लगायत माग महासंघले राखेको छ ।

यस्तै शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्घको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बीमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्ने लगायतका माग पनि शिक्षक महासंघले राखेको नेपाल शिक्षक संघका संघीय प्रतिनिधि तथा मङगलोदय मा.बि. का प्रधानाध्यापक .कबिन्द्र गोपालीले जानकारी दिए ।

उनले अब पनि आफूहरुको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । शिक्षकको मागको सम्बोधन नभएमा सबै ठप्प पारेर राजधानी केन्द्रित भई निर्णायक आन्दोलन गर्ने महांसघले चेतावनी दिएको छ ।